सुर्खेत, ३१ भदौ ।
गत साउन २१ गते सुप्रिम एकेडेमीको स्कुल बसले ठक्कर दिंदा वीरेन्द्रनगर ११ का १० वर्षीय प्रदीप अधिकारीको ज्यान गयो । पढाइ सकेर घर पुग्नै लाग्दा सुर्खेत एजुकेसनल डेभलपमेन्ट एकेडेमी (सेडा) मा ५ कक्षामा अध्ययनरत प्रदिपलाई बाटो काट्दै गर्दा भे१क ४७३ नम्बरको सुप्रिमको बसले ठक्कर दिएको थियो । सेडाको बसले गलत दिशामा ओराल्नु र सुप्रिमको बस तीव्र गतिले हाँक्दाको परिणाम प्रदीपको ज्यान गुम्यो ।
प्रहरीका अनुसार बस तीव्र गतिले हाँक्नु, बालबालिकालाई गलत दिशामा ओरोल्नु, सहचालकलाई चलाउन दिनु, सिटबिनै बोक्नुजस्ता कारण दुर्घटना निम्तिएको हो ।
निजी स्कुलहरूको चरम लापरबाहीले प्रदीपझैं अकालमा ज्यान गुमाउने अरू बालबालिका पनि छन् । आर्थिक वर्ष ०७४/७५ मा दुई बालबालिका स्कुल बसकै सिकार बने । गत वर्ष असोजमा वीरेन्द्रनगरकी ९ वर्षीया स्वस्तिका परियार र कात्तिकमा वीरेन्द्रनगर ७ का ६ वर्षीय सोभित सिंहको स्कुल बसकै ठक्करले ज्यान गयो । ‘स्कुलहरूले बसकै लागि महँगो शुल्क लिन्छन्, सेवा पटक्कै सन्तोषजनक छैन, वीरेन्द्रनगर ९ लाटिकोइलीका शंकर सिंहले भने, ‘बालबच्चा स्कुलबाट नफर्कुन्जेल चिन्ताले सताइरहन्छ ।’ निजी स्कुलहरूले बालबालिकाको सुरक्षामा ध्यान नदिँदा अभिभावकमा अनावश्यक त्रास बढेको उनको भनाइ छ ।
प्रहरीका अनुसार बस तीव्र गतिले हाँक्नु, बालबालिकालाई गलत दिशामा ओरोल्नु, सहचालकलाई चलाउन दिनु, सिटबिनै बोक्नुजस्ता कारण दुर्घटना निम्तिएको हो । साउन २१ को घटनामा सुप्रिम एकेडेमीद्वारा सञ्चालित बस चालकसँग लाइसेन्स नभएको खुल्न आयो ।
स्कुल सञ्चालकले न्यून तलब दिएर लाइसेन्स नभएका तथा ड्राइभिङमा निपुण नभएकालाई चालकको जिम्मेवारी दिने गरेको पाइएको छ । ‘उनीहरूलाई नियुक्त गर्दा कम पारिश्रमिक दिए पुग्ने हुँदा स्कुल सञ्चालकले यसमा बदमासी गर्न खोज्दारहेछन्, प्रदीपका बुवा निर्मलले भने, ‘सम्बन्धित निकायले नियमन गर्न नसक्दा बारम्बार दुर्घटना दोहोरिरहेका छन् ।’ न्यूनतम मापदण्डबिनै बस सेवा सञ्चालन गरेका त्यस्ता विद्यालयमाथि कारबाही गर्नुपर्ने उनको माग छ ।
यस्तो छ स्कुल बस निर्देशिका
सरकारले स्कुल बस सञ्चालनका लागि छुट्टै निर्देशिका जारी गरेको छ । यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकामा स्कुल बसमा अनिवार्य रुपमा पहेँलो रंग पोत्नुपर्ने उल्लेख छ । यस्ता बस अधिकतम् प्रतिघण्टा ४० किमिसम्म मात्रै गतिमा गुडाउन पाईन्छ । विद्यार्थी बोक्ने प्रयोजनमा प्रयोग भएका बसको अघिल्लो र पछिल्लो भागमा कालो रंगले स्कुल बस लेख्नुपर्ने प्रावधान निर्देशिकामा छ । भाडामा लिएको बसमा भने ‘अन स्कुल ड्युटी’ लखेर चलाउपर्नेछ ।
स्कुल बसको जाँचपास सार्वजनिक सवारीको मापदण्डअनुसार नै हुनेछ । बसमा स्कुलको नाम, ठेगाना र फोन नम्बर पनि लेख्न अनिवार्य गरिएको छ । १२ वर्षभन्दा माथिको उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न पाउने छैनन् ।
आपतकालीन ढोकाको व्यवस्था गर्नुपर्ने, बसको झ्यालमा ग्रील अनिवार्य गर्नुपर्ने, अग्नि नियन्त्रक सिस्टम तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, डस्टबिन राख्नुपर्ने, ढोकामा भरपर्दो चुकल प्रणाली जोड्नु पर्ने व्यवस्था पनि निर्देशिकामा छ ।
त्यसैगरी झ्यालको सिसा परादर्शी हुनुपर्ने, प्रवेशद्वारको उचाइ ३ सय मिलिमिटरभन्दा बढी हुन नहुने र झोला राख्न तखेता पनि हुनुपर्ने नियम छ । बसको सिटहरु सीधा रेखांकन अर्थात अगाडि एकैतर्फ फर्किएको हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
बसमा परिचालकको अनिवार्य व्यवस्था गर्नुपर्ने र धुमपान तथा मध्यपान गर्न नपाइने विषय पनि उल्लेख छ । चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र पनि बोक्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
विद्यालयले अनुभवी चालकको व्यवस्था गर्नुपर्ने र नियमित रुटबाहेकका सडकमा बस चलाउँदा पटके इजाजत लिनुपर्ने नियम पनि छ । स्कुल बसमा अन्य यात्रु र मालसामन पनि बोक्न पाइँदैन ।
विवरण बुझाउन आनाकानी
साउन २१ को घटनापछि वीरेन्द्रनगर नगरपालिकाले संस्थागत (निजी) विद्यालयमाथि निगरानी बढायो । उक्त घटनामा दुइटै स्कुलको उत्तिकै लापरबाही देखिएपछि नगरपालिकाले साउन २४ गते वीरेन्द्रनगरका सबै निजी स्कुललाई पत्राचार गर्दै सवारीसाधन र चालकको विवरण माग्यो । भदौ १ गतेभित्र विवरण पठाउन भनिए पनि अधिकांश स्कुलले विवरण पठाएनन् ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत गजेन्द्र जीसीले सवारीसाधन, ब्लु बुक, चालकरसहचालकको नियुक्तिपत्र, नागरिकता प्रमाणपत्रको विवरण मागेको जानकारी दिए । ‘धेरै स्कुलको विवरण आउन बाँकी छ, हामीले ताकेता गर्दै आएका छौं,’ उनले भने, ‘विवरण प्राप्त भइसकेपछि ट्राफिक प्रहरीको सहयोग लिएर स्कुलका सञ्चालक, चालक र सहचालकलाई सँगै राखेर अभिमुखीकरण गर्नेछौं ।’
शिक्षा अधिकृत जीसीले विद्यालय शिक्षा सञ्चालन, अनुगमन र नियमनको अधिकार नगरपालिकासँग भएकाले संस्थागत विद्यालयको बदमासी रोकिने दाबी गरे । वीरेन्द्रनगरमा प्रि–प्राइमरीदेखि प्लस टुसम्म पढाइ हुने १ सय ५७ निजी स्कुल छन् । तीमध्ये अधिकांशका सवारीसाधन छन् । जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरले निजी विद्यालयद्वारा सञ्चालित बसको लापरबाहीबारे धेरै गुनासो आएको बताए । ‘स्कुल बसमा ट्राफिक चेकिङ बढाउँछौं, निर्देशन दिइसकेको छु,’ उनले भने ।


कर्मसञ्चार । २०७५ भाद्र ३१ गते आइतवार