
सुर्खेत, ६ पुस ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतले गत कार्तिकमा सञ्चालन गरेको कृषि तथा पर्यटन प्रवद्र्धन ब्यापार मेलामा १७ लाख ३५ हजार रुपैयाँ घाटा भएको छ । मेला आयोजक आदिवासी जनजाति महासंघले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गरेको हो ।
कार्तिक ९ देखि १९ गतेसम्म वीरेन्द्रनगरको खुल्ला मञ्चमा सञ्चालन गरिएको महोत्सवमा ३७ लाख ६ हजार आम्दानी भएकोमा ५४ लाख ४१ हजार रुपैयाँ खर्च भएको मेला मुल आयोजक समितिका संयोजक पञ्चसिंह रोकायले जानकारी दिए । मेलाबाट १० लाख ५१ हजार मुनाफा हुने अपेक्षा गरिएको भएपनि सुर्खेतका केही व्यवसायी र उद्योग वाणिज्य संघको असहयोगका कारण आफूहरुले घाटा व्यहोर्नु परेको जनजाति महासंघ सुर्खेतका अध्यक्षसमेत रहेका रोकायले बताए ।
महासंघले मेला आयोजना गर्दा प्रदेश सरकार र स्थानीय सरकारसँग आर्थिक सहयोगका लागि प्रस्तावसहित गएको भएपनि यी निकायबाट आश्वासन मात्रै पाएको मेला आयोजकको आरोप छ । ‘सबै निकायको सहयोगको अपेक्षा थियो, तर आफूलाई डन ठान्नेहरुको बाधा/अवरोध खेप्नुप¥यो,’ महासंघका उपाध्यक्ष जीवनकुमार शाक्यले भने, ‘व्यवसायी साथीहरुकै अवरोध र कतिपय व्यक्तिहरुको दादागिरीले मेला अपेक्षा गरेअनुसार सञ्चालन गर्न सकिएन ।’ टिकट विक्रीदेखि साँस्कृतिक संयोजकसम्मको जिम्मेवारी आफूहरुलाई दिए मात्रै मेला सञ्चालन हुन दिने भन्दै केही व्यक्तिहरुले बारम्बार अवरोध गर्न खोजेको उनको भनाइ छ ।
कृषि, पर्यटन, कला, संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्नुका साथै वीरेन्द्रनगरको बुद्धपथमा निर्माणाधीन ‘बौद्ध सरोवर’ सहयोगार्थ आदिवासी जनजाति महासंघले मेला आयोजना गरेको थियो ।
प्रकाशित मितिः December 21, 2018 at 6:25 pm













कर्मसञ्चार । २०७५ पुष ६ गते शुक्रवार