दैलेख, २९ भदौ ।
दैलेख गुराँस गाउँपालिका ७ ओखरेनीमा रहेको हाते कागज उद्योग लामो समयदेखि बन्द छ । कच्चा पदार्थ लोक्ता प्रशस्त भएपनि आर्थिक अभावमा कागज उद्योग बन्द भएको हो ।
ओखरेनीमा रहेको ‘प्रेम नेपाली हाते कागज उद्योग’ का सञ्चालक प्रेमबहादुर रामजालीले आर्थिक अभावका कारण केही बर्षदेखि उद्योग बन्द गर्नुपरेको बताए ।
२०४९ सालमा दर्ता भएको यो उद्योग बिचमा सशस्त्र द्वन्दका कारण सञ्चालन गर्न नसकिएको भन्दै रामजालीले अहिले पुनःशुरुवात गर्ने सोच बनाएको तर आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिएको बताए ।
उनले ऋण पाइने आशामा धेरै ठाउँ धाइएको भन्दै जग्गाको लालपूर्जा देखाउदा समेत कुनै पनि निकायबाट ऋण नपाएको बताए । ‘मैले कागज उद्योग पुनःसंचालनको लागि लोन लिन बैंकमा, कृषि कार्यालयमा गए, तर मलाई लोन दिइएन,’ उनले भने, ‘अहिले पनि उद्योग बन्द छ तर दर्ता नविकरण गरिरहेको छु, र कर पनि तिरिरहेको छु ।’
उनले व्यवसाय सञ्चालन गर्छु भन्ने व्यक्तीलाई प्रोत्साहन नदिने सकार र विभिन्न गैर सरकारी संस्थाहरुदेखि वाक्क लागेको भन्दै आफुलाई अहिले कागज उद्योग सञ्चालन गर्न २० लाख रकम आवश्यक रहेको बताए ।
उद्योग सञ्चालनका बेला १६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए । तर अहिले बन्द भएपछि आफुहरु वेरोजगार बस्नुपरेको उद्योगमा संग्लग्नहरुले बताएका छन् । त्यतिबेला रोजगारीमा लागेका रत्नबहादुर घर्तीले कागज उद्योग संचालन भइरहदा कमाई गर्न सजिलो भएको भन्दै अहिले बन्द हुदा समस्या भएको बताए । यो कागज उद्योग गुराँस गाउँपालिकाकै पहिलो उद्योग हो । यसको संचालनको लागि गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने स्थानीयको भनाइ छ । उद्योग संचालनको लागि चाहिने कच्चा पदार्थ लोक्ताको बिरुवा हो । गुराँस गाउँपालिकाको वडा नं. ७ को जंगलमा लोक्ता प्रशस्त पाईन्छ ।























कर्मसञ्चार । २०७५ भाद्र २९ गते शुक्रवार