सुर्खेत उपत्यका खानेपानीमा नयाँ आयोजना थपियो

आयोजनाबारे जानकारी दिँदै संस्थाका अध्यक्ष कुलमणि देवकोटा

सुर्खेत, ९ मंसिर ।
सुर्खेत उपत्यकाको बढ्दो खानेपानी संकट टार्न अल्पकालीन आयोजनाका रुपमा नयाँ खानेपानी आयोजना थप गरिएको छ । वीरेन्द्रनगर १३ र १५ को बीचमा पर्ने दमैखोला आयोजनालाई झुप्रामा थप गर्न लागिएको हो ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले दमैखोलाको विस्तृत अध्ययन सर्वेसमेत गरिसकेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले सो आयोजनाका लागि करिब ४ करोड रुपैयाँ लाग्ने बताए । उनकाअनुसार आयोजना अन्र्तगत १५ लिटर प्रतिसेकेण्ड पानी दमैखोलाबाट झुप्रामा खसालिनेछ । दमै खोलाको मुहानदेखि करेखोला इन्टेकसम्म साढे ६ किमी पाइप लाइन खन्नुपर्ने देखिएको छ । उक्त आयोजना पुरा भएमा ७ हजार बढी धारा थप गर्न सकिने अध्यक्ष देवकोटाले जानकारी दिए ।

उपत्यकामा दैनिक १ सय ७६ लिटर प्रति सेकेण्ड पानीको आवश्यकता छ । तर, संस्थाले हाल १ सय ४२ लिटर प्रतिसेकेण्ड पानी पूर्ति गर्दै आएको छ । दमैखोलाबाट १५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भएमा कूल १ सय ५७ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति हुनेछ । दमैखोला आयोजना सम्पन्न भएपछि आलोपालो गरेर उपत्यकामा खानेपानीको संकट केही मात्रामा भएपनि टार्न सकिनेछ ।

सुर्खेत उपत्यकामा दैनिक १ सय ७६ लिटर प्रति सेकेण्ड पानीको आवश्यकता छ । तर, संस्थाले हाल १ सय ४२ लिटर प्रतिसेकेण्ड पानी पूर्ति गर्दै आएको छ । झुप्रा खोलाबाट ८६ लिटर, खरी र बोरीखोलाबाट ३५, इत्राम खोलाबाट १७ र खोर्के खोलाबाट ५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति हुँदै आएको छ । दमैखोलाबाट १५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भएमा कूल १ सय ५७ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति हुनेछ । दमैखोला आयोजना सम्पन्न भएपछि आलोपालो गरेर उपत्यकामा खानेपानीको संकट केही मात्रामा भएपनि टार्न सकिने संस्थाले जनाएको छ ।

उपत्यकामा बढ्दो जनसंख्या र घट्दो मुहानका कारण खानेपानीको संकट बढ्दै गएको छ । अब खानेपानीको दीर्घकालीन संकट टार्न भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने उपाएमात्र बाँकी छ । त्यसका लागि सुख्खा क्षेत्र खानी आयोजनाले विस्तृत अध्ययन समेत गरिसकेको छ । कूल २ अर्ब ९१ करोड लागत लाग्ने सो आयोजना दुई चरणमा सम्पन्न गर्न सकिने अध्यक्ष देवकोटाले जनाए । भेरी नदीदेखि अमृतडाँडासम्मको पहिलो पाकेज र अमृतडाँडादेखि वितरण क्षेत्रसम्म दोस्रो प्याकेजमा काम गर्न सकिनेछ । यसवर्ष टेण्डरका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

भेरीको पानी ३ सय ५० लिटर प्रति सेकेण्ड ल्याउन सकिने बताइएको छ । उक्त आयोजनाका लागि कम्तिमा ५ वर्ष लाग्ने अनुमान गरिएको छ । अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले अब अल्पकालिन आयोजनाहरु सकिएकाले भेरी नदीको पानी नै उपत्यकाको दीर्घकालीन समस्या समाधानको एकमात्र विकल्प ठानेको छ ।

प्रकाशित मितिः   November 25, 2018 at 12:42 pm 


  • प्रतिक्रिया दिनुहोस्