रौनक हराएको पर्व

सुर्खेत, २७ भदौ ।
विगतको तीजको रौनक हरायो । तीज गीत गाउन छाडियो । बजाउन थालियो । अहिले तीजमा न विरहका भाका सुनिन्छन् न मौलिक बाजा । हिन्दू नारीहरूको पर्व तीजले मूल बाटो बिरायो । तीज मनाउने तरिका प्रत्येक वर्ष परिवर्तन हुँदै गयो ।

धेरै वर्षअघिसम्म निकै सामान्य हिसाबले तीज मनाएको देख्न पाइँन्थ्यो । पहिलेका तीज गीतमा महिलाका कुण्ठित भावना बाहिर आउँथे । समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे । तर, अहिले सस्तो र अभद्र मायाप्रेमको विषयले बढी ठाउँ पायो । नारीहरुको विशेष पर्व तीज मूल मर्मबाट विमुख हुँदै गयो ।

दिदीबहिनीलाई घरमा बोलाएर गाउँघरकै परिकार दरका रुपमा ख्वाउने र खाने चलन थियो । त्यतिबेला मौलिक भाका र शब्दमा आधारित गीत गाइन्थ्यों । गाउँघरका सबै महिलाहरु एक ठाउँमा जम्मा भएर मादल बजाउँदै नाच्थे । तर, पछिल्ला समय तीज पर्व तडकभडक र चेलीहरुले गाउने गीत अश्लील दोहोरीमा फेरिएका छन् । तीजमा गाइँने गीतको विषयवस्तु र शैली भड्किलो तथा मर्मबाहिर गएको छ ।

पहिले माइत जान नपाएको, श्रीमानले साडी–पोते नल्याइदिएको, सासू बुहारीको मनमुटाब, आक्रोश, श्रीमानसँगको गुनासो आदि कुरा गीतमार्फत व्यक्त गर्ने चलन थियो । बिस्तारै तीज फेरियो । सांस्कृतिक, पारिवारिक र धार्मिक महत्व बोकेको तीज जतिसुकै सैद्धान्तिक र बोलीचालीको भाषाबाट व्यक्त गरे पनि व्यावहारिक रूप यसले पाउन सकेको छैन ।

अहिले हरिदेवी कोइरालाले गाएको – ‘आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले । सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले ।’ जस्ता गीत सुन्न पाइँदैन । बरु, – ‘तीज आएनि पिरलो, नआएनि पिरलो । चोरी खान पल्केको ढाडे बिरालो ।’ जस्ता उत्ताउला गीत बजाएर तीज मनाउन थालिएको छ । यी विपरीत भावका रचनाले तीज गीतमा आएको बदलावलाई ‘पटाक्षेप’ मात्र गर्दैन, तीज गीतको सौन्दर्य हराउँदै गएको प्रमाण पनि दिन्छ । तीजमा कलाहीन र ‘उट्पट्याङ’ गीतको वर्चश्व छ ।

गीतसंगीत मात्र होइन तीज मनाउने शैली नै परिवर्तन भएको छ । दूध, घिउ र दहीले बिस्तारै विश्राम लिँदैछ । सफ्ट ड्रिङ्क्स र हार्ड ड्रिङ्समा रमाउने क्रम बाक्लिँदैछ । गाउँघरमा बन्ने खीर एवं अन्य मिष्ठान्न भोजन हराउँदै गएका छन् । अहिले एक महिना अघिदेखि तीज लाग्छ । सबैतिर गरगहनाकै प्रतिस्पर्धा छ । महिनादिन अघिदेखि दर खानेभन्दै पर्वलाई खर्चिलो र भड्किलो बनाउने गरिएको छ ।
तीज मौलिक संस्कार हो । तर, तीज मनाउने यस्तो तरिकाले मौलिकता र परम्परागत सौन्दर्यलाई कुरुप बनाइदिएको छ । हिजोआज क्षणिक र सस्तो रमाइलोका विषयवस्तु तीज गीतमा हाबी हुँदै गएका छन् ।

विगत केही बर्षयता तीज गीतको विषयवस्तु र शैली भड्किलो तथा मर्मबाहिर पुगेको बताउँछन् बरिष्ठ कलाकार प्रेमदेव गिरी । तीज गीत मौलिक सांस्कृतिक धरोहर भएकाले यसको जगेर्ना हुनुपर्ने उनको भनाई छ । गिरी जस्तै अग्रज स्रस्टाहरुले तीजको मर्म र तीज गीतको सौन्दर्य घट्दै गएको प्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

वर्षभरिका आफ्ना दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम तीज गीत बन्ने गरेकामा अहिले त्यो अश्लीलता र क्षणिक रमाइलोमा समेटिन पुगेको छ । पहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन र पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउने गर्थे ।

पछिल्लो समयमा नेपाली तीज गीतको मौलिक र शास्त्रीय परम्परामा आएको ह्रासले अग्रजहरुलाई चिन्तित तुल्याएको छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको छ । यसमा नारी मुक्तिको उद्घोष समेटिएको हुन्छ । धार्मिक दृष्टिकोणले पनि तीज गीतको आफ्नै महत्व रहेको छ । तीजमा व्रत उपसानादेखि महिलाले आफू, पति र परिवारको सुख तथा समृद्धिका लागि पूजाआजा गर्ने चलन छ ।

प्रकाशित मितिः   September 12, 2018 at 6:31 pm 


  • प्रतिक्रिया दिनुहोस्