जर्बजस्ती करणी अनुसन्धानमा महराको असहयोगः डीएनएका लागि रगत दिएनन्, पोलिग्राफ भएन र मोबाइल हरायो

काठमाडौं, १४ कात्तिक ।
जर्बजस्ती करणी र करणी उद्योगमा अपनाउने अनुसन्धान पद्धतिमा आरोपीको असहयोग भएको विवरणसहित काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निर्वतमान सभामुख कृष्णबहादुर महरा बिरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा बिहीबार दर्ता भएको छ । आफ्नै कार्यालयमा कार्यरत महिलालाई जर्बजस्ती करणी उद्योग गरेको अभियोगमा पाँच वर्षको सजाय माग दाबीसहित मुद्दा दर्ता भएको हो ।

प्रहरी अनुसन्धामा महराले डीएनए परीक्षणका लागि अदालतको आदेश समेत अवज्ञा गर्दै रगत दिन इन्कार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै उनका चिकित्सकले महराको प्रतिकूल स्वास्थ्यका कारण पोलिग्राफ टेस्ट लिन नमिल्ने पत्र प्रहरीलाई थमाएका हुन् । प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण मानिएको महराले बोक्ने मोबाइल उनले हराएको बयान प्रहरीमा दिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले प्रहरी अनुसन्धानमा डीएनएका लागि रगत दिन नमानेको, स्वास्थ्यका कारण पोलिग्राफ टेस्ट नभएको र मोबाइल हराएको तथ्यसहित मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको बताए ।

सभामुख पदमै रहँदा महराले आफ्नै सचिवालयमा कार्यरत रोशनी शाहीलाई करणीको प्रयास गरेका थिए । पीडित शाहीले घटनाको विवरण प्रहरीलाई सोही रात बताएकी थिइन् । प्रहरीले उनको मौखिक जाहेरीभन्दा एउटा अनलाइनमा रोशनीको अन्तर्वार्ता आएपछि कारबाही थालेको थियो ।

प्रहरी बयानमा रोशनीले महरा मादक पदार्थले लठ्ठ भएर उनी एक्लै भएका बेला कोठामा आएको बताएकी छन् । आफूले करणी प्रयासको प्रतिकार गर्दा महराले धेरै पटक अनुहारमा हानेको र अति भएपछि पुलिस बोलाउने भनेपछि महरा भान्साकोठाको ढोकाबाट निस्किएर भागेको बयान रोशनीले प्रहरीलाई दिएकी हुन् ।

प्रहरीले घटनास्थलबाट बरामद गरेका सबुत प्रमाणको आधिकारिकताका लागि महराको डीएनए परीक्षणको माग गरेको थियो । काठमाडौं जिल्ला अदालतले समेत कात्तिक ७ मा डीएनए परीक्षणका लागि रगतको नमूना दिन महरालाई आदेश दिएको थियो ।
प्रहरीले घटनास्थलबाट फुटेको चस्मा, जुत्ताको तलुवा र अन्य सामग्री बरामद गरेको थियो । तर, डीएनए परीक्षण नभएकाले ती सामग्री कस्का हुन प्रहरीले खुलाउन सकेको छैन ।

प्रकाशित मितिः   October 31, 2019 at 6:58 pm 


  • प्रतिक्रिया दिनुहोस्