राँझा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान

सुर्खेत, ४ असोज ।
बाँकेको नेपालगन्जस्थित राँझा विमानस्थलबाट पनि एक बर्षभित्रै अन्तर्राष्ट्रिय उडान हुने भएको छ । हाल आन्तरिक विमानस्थलको रुपमा रहेको राँझा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी सुरु भएको हो । हाल नेपालगन्ज विमानस्थलबाट पश्चिम र सुदुर पश्चिम नेपालका दुर्गम क्षेत्रमा उडान हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ वे, इमिग्रेसन, कस्टम, एक्सरे मेसिन, सिसिटिभि क्यामेरा लगायत आवश्यक पूर्वाधारको तयारी सो विमानस्थलले गरेको छ । विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको डिजाइन तयारी भइसकेको छ ।
‘डिजाइन पूर्णरुपमा तयार हुन २ महिना लाग्नेछ’ ठाकुरले भने, ‘कार्तिकमा डिजाइन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेस गरिनेछ ।’ डिजाइनमा विमानस्थलको टर्मिनल भवन, भौतिक पूर्वाधारले ओगट्ने क्षेत्रफल, बजेट लगायतका विषय समेटिनेछन् ।
विमानस्थलले तयार पारेको डिजाइन प्राधिकरणलाई पेस गरेपछि टेन्डरको प्रक्रिया सुरु हुनेपनि विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए ।
यी सबै कार्य सम्पन्न भएपछि अन्तर्राष्ट्रिय उडान गर्न करिव एक बर्ष लाग्ने उनले बताए । सरकारले नेपालगन्ज लगायत जनकपुर, विराटनगर र धनगढी विमानस्थलको स्तर उन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्ने योजना बनाएको छ ।
यीमध्ये नेपालगन्जबाट दिल्ली उडान गर्न बुद्ध एयरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृतिसमेत पाइसकेको छ । बुद्ध एयरले १७ पुसदेखि लागु हुनेगरी नेपालगञ्ज–नयाँदिल्लीका रुटमा दैनिक ३ वटा उडानको स्वीकृति पाएको हो । हालको आन्तरिक टर्मिनल भवनबाट अन्तर्राष्ट्रिय उडानका लागि योग्य नभएपछि अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने योजना बनाइएको हो । यसै आर्थिक बर्ष प्राधिकरणले विमानस्थलका लागि १ करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः   September 20, 2018 at 12:01 pm 


  • प्रतिक्रिया दिनुहोस्