‘निर्मला हत्या प्रकरणमा प्रहरी प्रमुख दोषी’

कञ्चनपुर, २२ भदौ ।
निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिका संयोजक मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापर्वाही गरेको देखिएको बताए ।
उनले निर्मलाको बलात्कारपश्चात हत्याको घटनालाई लिएर कञ्चनपुरमा भएको आन्दोलन बिना कारण नभएको भन्दै यसमा कतै न कतै प्रहरीको दोष भएको बताए । ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन’, मैनालीले भने, ‘त्यसमा प्रहरीको त्रुटी देखिएको छ ।’
उनले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था आउनुको पछाडि प्रहरीले सही रुपले अनुसन्धान नगरेको भेटिएको बताए । ‘प्रहरीले अनुसन्धानलाई जुन तरिकाले गर्नुपथ्र्यो त्यस्तो गरेको देखिँदैन’, मैनालीले भने, ‘शंकास्पद पाटोलाई बेवास्ता गरेकाले नै घटनाले गम्भीर रुप लिएको हो ।’
अनुसन्धानका क्रममा आफूहरु यस्ता थुप्रै तथ्यहरु फेला पारेको बताउँदै टोलीले प्रहरीको नयाँ अनुसन्धान टोलीलाई प्रमाण तथा तथ्यहरुका बारेमा बताएको जानकारी दिए । ‘जनताले प्रहरीलाई नभनेका कतिपय कुराहरु हामीलाई भन्नुभएको छ’, उनले भने, ‘हामी त्यो कुरा अनुसन्धानमा खटिएका नयाँ टोलीलाई भनेका छौँ । आशा गरौ चाँडै नै निष्कर्ष निस्किन्छ ।’ उच्चस्तरीय छानबिन टोलीले तात्कालीन प्रहरी प्रमुखकै कमजोरीले घटनाको निष्पक्ष छानबिन हुन नसकेको ठहर गरेको छ । ‘यो सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले हामीले तत्काल प्रमुख प्रमुख एसपी डिल्ली बिष्टलाई निलम्बन गर्न सिफारिस ग¥याँै’, मैनालीले भने, ‘अनुसन्धानमा खटिएका प्रहरी विभागमा झिकाइसकिएकाले अब उनीहरुसँग सोधपुछ हुन्छ ।’ समितिका संयोजक मैनालीले अनुसन्धानमा प्रहरी प्रमुखकै गैरजिम्मेवारीपन देखिएकाले उनलाई कारबाहीका लागि सिफारिस गरिएको बताउँदै अन्य प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्न सकिने बताए ।

गृहमन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो । टोलीलाई प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो । टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३÷४ दिनभित्र प्रतिवेदन तयार पारेर गृहमन्त्रालयमा बुझाउने जनाएको छ ।

प्रकाशित मितिः   September 7, 2018 at 6:38 pm 


  • प्रतिक्रिया दिनुहोस्