चौकुनेका बहुमूल्य जडीबुटी सदुपयोग भएन

सुर्खेत, १३ भदौ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा रहेका बहुमूल्य जडीबुटीको सदुपयोग नहँुदा करोडौंको आर्थिक स्रोत खेर गइरहेको छ । जैविक विविधताले भरिपूर्ण चौकुनेमा पाइने दुर्लभ जडीबुटीहरूको वैज्ञानिक अनुसन्धान र सही उपयोग नहुँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो ।
हालसम्म यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीबारे अनभिज्ञ हुनु र सरकारी स्तरबाट कुनै अध्ययन, अनुसन्धान हुन नसक्दा हजारौं हेक्टरमा फैलिएको राष्ट्रिय र सामुदायिक वनभित्रको बहुमूल्य जडीबुटी चौपायाको आहारा बनेको छ ।

आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी पर्याप्त भए पनि राज्यको ध्यान नपुग्दा खेर गइरहेको भन्दै गुटु गाउँका बासिन्दाले प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन् । ‘सरकारी स्तरबाट खोज र अनुसन्धान नहुँदा यहाँका बहुमूल्य जडीबुटी छाडा गाई–भैसीको आहार बनेको छ,’ श्री बण्डाली सामुदायक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर सलामीले भने ।

समुद्र सतहबाट ४ सयदेखि १ हजार ७ सय २७ मिटर उचाइको उक्त जङ्गलको क्षेत्रफल करिब ५ हजार ५ सय हेक्टर छ । यहाँ पहाडी क्षेत्रमा पाइने विभिन्न जातिका वनस्पति र वन्यजन्तुसमेत पाइन्छ । यस क्षेत्रमा सबैभन्दा बढी पाइने वनस्पति टिमुर हो । यसबाहेक काउलो, तेजपत्ता, दालचिनी, समयो, जटामसी, सुनाखरी, विषजरा, सतुवा, सुनगाभा, भुतले, कुटकी, बोजो, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, उकु डाइना, सतुवा, कुरिलो, पाखनबेत, वनलसुन, सिलाजीतलगायत बहुमूल्य जडिबुटी अधिक पाइने स्थानीय बासिन्दा बताउँछन् ।

सुनाखरी सिटामोललगायतका औषधी उत्पादन गर्ने अत्यावश्यक जडीबुटी हो । गाउँले बिमारी पर्दा ती जडीबुटीको कुनै न कुनै रूपमा प्रयोग गर्दै आए पनि यसको व्यावसायिक उपयोग हुन सकेको छैन । टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने तथा रक्तचापका बिमारीका लागि स्थानीयबासीले यहाँका जडीबुटी प्रयोग गर्दै आएको बताएका छन् । यहाँका बहुमूल्य जडीबुटीको उपयोग हुन नसक्दा बर्षेनि करोडौं आम्दानी खेर गइरहेको छ, ‘गुटुका स्थानीय देवबहादुर थापाले भने, ‘हामी यो औषधी छोडेर आयात हुने सिटामोल खाइरहेका छौं ।’

प्रकाशित मितिः   August 29, 2018 at 6:44 pm 


  • प्रतिक्रिया दिनुहोस्