‘वामदेवका लागि कसरी भोट माग्नु ?’

काठमाडौं, २४ असोज ।
गत निर्वाचनमा बर्दिया–१ बाट पराजित नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन भन्दै काठमाडौं–७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजीनामा घोषणा गरेका छन् ।
काठमाडौं–७ कै नेकपा नेतारकार्यकर्ताले रामवीरले आफूहरूसँग कुनै छलफल नै नगरी जनचाहनाविपरित हठातमा राजीनामामा दिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले पार्टीको पकड राम्रो भए पनि निर्वाचित सांसदले अकस्मात राजीनामा दिएर बाहिरका मान्छेलाई जिताउन उपनिर्वाचन गर्दा आफूहरूलाई भोट माग्न अप्ठेरो हुने बताएका छन् ।
काठमाडौं–७ मा महानगरका १६, १७,१८ र २५ वडा पर्छन् । त्यस्तै नागार्जुन नगरपालिकाका १, २ र ३ अनि तारेकश्वर नगरपालिकाका ३, ४ र ५ वडा यही क्षेत्रमा छन् । १० वडामध्ये गत स्थानीय चुनावमा ६ वडामा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका छन् भने ४ वडामा कांग्रेसले अध्यक्ष जितेको छ ।

अहिले एउटै पार्टी बनेका तत्कालीन एमाले र माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारहरूले पाएको जम्मा मत १७,०२३ छ । त्यस्तै संघीय चुनावमा तालमेल गरेका कांग्रेस र राप्रपाका वडाअध्यक्ष उम्मेदवारले १४,७९३ मत पाएका छन् ।

काठमाडौं–७ मा पर्ने विभिन्न वडाहरूका नेता/कार्यकर्ताको विचार

न्हुछेकाजी महर्जन, वडाअध्यक्ष–काठमाडौं (१८)

स्थानीय चुनावमा यहाँकवो वडाअध्यक्ष जितेपछि प्रदेश र संघको चुनावमा म यो क्षेत्रमा वाम गठबन्धनको चुनावी कमाण्डर थिएँ । ७० प्रतिशत नेवार र बाँकी अरू समुदायका मतदाता रहेको यो क्षेत्रमा रामवीरलाई चुनाव जिताउन आफू पनि खटिएँ, साथीभाइलाई पनि खटाएँ । केन्द्र र प्रदेशमा तीनै जना हाम्रा उम्मेदवार विजयी भए ।
सोमबार म मनकामना गएको थिएँ । एकाएक वामदेवका लागि रामवीरले राजीनामा दिएको खबर सुनें । अचम्म लाग्यो। कसरी यस्तो निर्णय गर्न सक्नुभएको होला । प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठ र बसन्त मानन्धरलाई पनि जानकारी दिनुभएको रहेनछ ।
एक पटक यहाँका जनताका प्रतिनिधिलाई सोध्ने हिम्मत गर्नुभएन । चुनावी कमाण्डर गरेको मलाई पनि सोध्नुभएन । किन गर्नुभयो त्यो उहाँले स्पष्ट बताउनुभएको पनि छैन । मैले फोन गर्दा उठाउनु भएको छैन, फोन गर्नु भएको पनि छैन ।
वामदेव गौतम यहाँ आएर चुनाव लड्ने कुराको निर्णय हुन बाँकी छ । भोलिपर्सि के होला अहिले नै भन्ने अवस्था रहेन। तर, यहाँ नेवार समुदायको वर्चश्व छ । ७० प्रतिशत जनसंख्या यो जातिको छ । रामवीर नेवार समुदायले चुनेर पठाएको जनप्रतिनिधि हो । वामदेव गौतम आएर चुनाव लड्न यहाँ सजिलो हुँदैन ।
गत वर्षको चुनावमा मेरो वडामा रामवीरलाई होइन मलाई भनेर जनताले भोट दिएका थिए । हिजोको चुनावी कमाण्डर मैले आज जनतालाई रामवीरको राजीनामाबारे के बोल्ने ? के जवाफ दिने ? वामदेवका लागि के भनेर भोट माग्ने ? मलाई भोट भाग्न निकै गाह्रो हुन्छ ।

सेतोपाटीबाट

प्रकाशित मितिः   October 11, 2018 at 5:25 pm 


  • प्रतिक्रिया दिनुहोस्