बलात्कार रोक्न आत्मरक्षा तालिम

कैलाली, ६ असोज ।
महिला हिंसा, बलात्कार जस्ता घटना न्यूनीकरण गर्न महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइने भएको छ । राष्ट्रिय गोजुरियो कराते–दो संघले ओरेक नेपाल लगायतका संघसंस्थाको सहयोगमा तालिम दिन लागिएको हो ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार असोज २० गतेबाट शुरु हुने तालिममा प्रदेश ७ का करिब एक हजार महिलाको सहभागिता रहनेछ । ‘हामी लड्न होइन, किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउँछौं’ संघका महासचिव प्रकाश चन्दले भने, ‘कसैले महिलामाथि नराम्रो व्यवहार गर्न खोजे त्यसबाट बच्न सक्ने बनाउँछौं ।’

तालिममा सहभागी हुन शुल्क लाग्दैन । सहभागी एक हजारबाट उत्कृष्ट १०० जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र स्थानीय तहसँग सहकार्य गरेर तालिम सञ्चालन गर्ने योजना छ ।

ओरेक नेपालका संयोजक विनु रानाले यसलाई अन्य प्रदेशमा पनि सञ्चालन गरिने जानकारी दिइन् । उनका अनुसार प्रदेश ७ बाट सुरु गरिने आत्मरक्षा सम्बन्धी तालिम प्रदेश एकको बिर्तामोडमा समापन हुनेछ ।

प्रकाशित मितिः   September 22, 2018 at 6:19 pm 


  • प्रतिक्रिया दिनुहोस्