
सुर्खेत । युवाहरूलाई नीति निर्माण र सुशासन प्रक्रियासँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यले कर्णालीमा संघीयतासम्बन्धी प्रदेशस्तरीय युवा संवाद कार्यक्रम गरिएको छ । नेपालमा संघीय शासन प्रणाली, अन्तर–सरकारी सम्बन्ध, समावेशी शासन तथा वित्तीय संघीयताबारे युवाहरूमा साझा बुझाइको विकास गर्न सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा संवाद कार्यक्रम सम्पन्न भएको हो । प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजीएसपी/युनएनडिपी) र फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टर (एफएलसी) को सहकार्यमा आयोजित कार्यक्रममा कर्णालीका विभिन्न जिल्ला र क्षेत्रसँग सम्बन्धित युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संघीयता कार्यान्वयन, समावेशी लोकतन्त्र, अन्तर–सरकारी सम्बन्ध, सार्वजनिक सेवा प्रवाह, उत्तरदायित्व तथा युवाको भूमिकाबारे गहन छलफल गरिएको छ ।
संवादमा विशेषगरी लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका सवाललाई केन्द्रमा राखी विभिन्न विषयगत सत्रहरू सञ्चालन गरिएका थिए । समूह कार्य, रोल-प्ले तथा खुला संवादमार्फत संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन, प्रदेश र स्थानीय तहको भूमिका एवम् जिम्मेवारी, साथै नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताबारे विमर्श गरिएको थियो । कार्यक्रमका सहभागीहरूले प्रतिनिधित्व मात्र पर्याप्त नभइ वास्तविक समावेशिता सुनिश्चित हुनुपर्नेमा जोड दिए । छलफलका क्रममा सामाजिक, भाषिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै समावेशी, उत्तरदायी र प्रभावकारी शासन प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । महिला, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्यका सबै तह थप जिम्मेवार बन्नुपर्ने सहभागीहरूले धारणा राखेका थिए ।

कार्यक्रममा ‘संघीयताको बुझाइ’ सत्रमा संघीयताको आधारभूत अवधारणा, सिद्धान्त र संरचनाबारे एफएलसीका अध्यक्ष एवम् संघीयताविद् डा. खिमलाल देवकोटाले सहजीकरण गरेका थिए । यस्तै, ‘जिम्मेवारी नक्साङ्कन प्रयोगशाला’ सत्रमा संघ, प्रदेश र स्थानीय तहबीचको कार्यगत जिम्मेवारीबारे संविधानसभा सदस्य प्रह्लाद लामिछानेले सहजीकरण गरे । उनले बजेटका सिद्धान्त तथा प्राथमिकताबारे युवाहरुलाई व्यवहारिक अभ्याससमेत गराएका थिए । ‘समावेशिता र संघीयता–प्रतिनिधित्वभन्दा पर’ सत्रमा प्रतिनिधित्व र वास्तविक सशक्तीकरणबीचको अन्तरबारे राष्ट्रियसभा पूर्वसदस्य प्रकाश पन्थले सहजीकरण गरेका थिए । ‘युवा उत्तरदायित्व नवप्रवर्तन प्रयोगशाला’ सत्रमा युवा नेतृत्वमा आधारित शासन सुधारका व्यवहारिक समाधानबारे छलफल गरिएको थियो, उक्त सत्रको सहजीकरण मोहम्मद आयुबले गरेका थिए ।
यस्तै, एफएलसीका वरिष्ठ कार्यक्रम संयोजक कृष्णकुमार साहले अन्तर–सरकारी सम्बन्धअन्तर्गत ‘प्रदेश समन्वय परिषद्’ बैठक अभ्यास सत्रमार्फत अन्तर–सरकारी समन्वय र निर्णय प्रक्रियाको व्यवहारिक अभ्यास गराएका थिए । अन्तिम सत्र ‘प्रदेश युवा संघीयता चार्टर’ मा सम्पूर्ण सिकाइलाई एकीकृत गर्दै प्रदेशस्तरीय युवा संघीयता घोषणापत्र तयार गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, कर्णाली प्रदेशसभा सदस्यहरू टेकराज पछाई, उर्मीला विश्वकर्मा र सन्तोषी शाहीलगायत प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायका सचिव एवम् प्रतिनिधिहरूले कार्यक्रमको अवलोकन गरेका थिए । एफएलसीका कार्यकारी निर्देशक प्रकाश पन्थले यो संवाद श्रृंखला युवाहरूलाई संघीय शासन प्रणाली, अन्तर–सरकारी सम्बन्ध, समावेशी लोकतन्त्र तथा उत्तरदायी शासनबारे जानकारी दिन सातै प्रदेशमा आयोजना गरिएको हो । उनका अनुसार यसअघि अन्य ६ वटा प्रदेशमा यही प्रकृतिका संवाद कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेशस्तरमा संकलित सुझाव तथा निष्कर्षहरूलाई राष्ट्रिय युवा संवाद सम्मेलनमार्फत नीति निर्मातासमक्ष प्रस्तुत गरिने जनाइएको छ ।
प्रकाशित मितिः June 9, 2026 at 6:18 am












कर्मसञ्चार । २०८३ जेष्ठ २६ गते मंगलवार