
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बिरुवा रोपणसँगै त्यसको रेखदेख र संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताएका छन् । शनिवार डिभिजन वन कार्यालय, सुर्खेतले आयोजना गरेको वृहत वृक्षारोपण सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामीकहाँ बिरुवा रोप्ने काम धेरै हुन्छ, तर त्यसको संरक्षणमा खासै ध्यान पुगेको देखिदैन’ उनले भने, ‘वृक्षारोपण गरेपछि त्यसको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।’ वृक्षारोपणले वातावरणको संरक्षण मात्र नभइ मानव उपयोगका हिसाबले समेत लाभदायी हुने मुख्यमन्त्री कँडेलले बताए । हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउने किसिमका बिरुवा रोप्नुपर्नेमा उनले जोड दिए ।
वृक्षारोपणलाई अभियानका रूपमा लैजानुपर्ने आवश्यकता औल्याएका उनले वृक्षारोपणले भू–क्षयलगायतका प्राकृतिक प्रकोपजन्य समस्या नियन्त्रण गर्न सकिने जनाए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजनाहरू लागू गर्ने नीति लिइएको उनको भनाइ छ ।
प्रकाशित मितिः June 28, 2025 at 9:12 pm























कर्मसञ्चार । २०८२ असार १४ गते शनिवार