
सुर्खेत । वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । पारा फाउन्डेसन शाखा कार्यालय सुर्खेतले आगामी माघ ९ देखि १४ गतेसम्म प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको जनाए । ‘अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन्,’ उनले भने, ‘ यही सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको हो ।’
अध्यक्ष शाहीका अनुसार महिला र पुरुष बास्केटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा सातै प्रदेश र विभागीय टोलीको सहभागिता रहनेछ । त्यस्तै, ह्वीलचेयर क्रिकेट, ह्वीलचेयर महिला र पुरुष पाँच किलोमिटर दौड तथा ह्वीलचेयर नृत्य प्रतियोगिता गरिनेछ । प्रतियोगितामा दुई सय ह्वीलचियर प्रयोगकर्ता खेलाडीको सहभागिता हुने बताइएको छ । अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोण बदल्न, राज्यको ध्यानाकर्षण गर्न र समावेशी खेलकुदको प्रवद्र्धन तथा अपाङ्गता खेलाडी चिनाउन कर्णालीमा प्रतियोगिता गर्न लागिएको अध्यक्ष शाही बताउछन् । उक्त प्रतियोगितालाई पर्यटनसँग जोड्ने प्रयास पनि गरिने बताइएको छ ।
आयोजकका अनुसार ह्वीलचेयर बास्केटबल प्रतियोगिता वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशाला र क्रिकेट प्रतियोगिता कालिञ्चोकको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । त्यस्तै, ह्वीलचियर दौड प्रतियोगिता वीरेन्द्रनगरको एयरपोर्टदेखि बाङ्गेसिमलसम्मको पाँच किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।
प्रकाशित मितिः December 21, 2025 at 4:51 pm


कर्मसञ्चार । २०८२ पुष ६ गते आइतवार