सुर्खेत, २३ साउन ।
सुर्खेतमा सञ्चालित एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । एम्बुलेन्स सञ्चालकहरूले (आज) बुधबारदेखि नयाँ भाडादर तोकेका हुन् । नयाँ भाडादरअनुसार अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४ सय तथा ‘ख’ वर्गको सेवाका लागि ८ सय भाडा कायम गरिएको छ । वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिरको हकमा भने प्रति किलोमिटर ४० रुपैयाँका दरले एम्बुलेन्सहरूले भाडा लिनेछन् ।
यस्तै, सुर्खेतको छिन्चुदेखि जाजरकोटसम्मको मार्गमा भने न्यूनतम भाडादर ५ हजार ५ सय रुपैयाँदेखि अधिकतम ११ हजार रुपैयाँसम्म तोकिएको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल शाखा कार्यालय सुर्खेतका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए । कर्णाली राजमार्गमा सुर्खेतको बड्डिचौरदेखि वीरेन्द्रनगरसम्मको लागि २ हजार ३ सय रुपैयाँ भाडा तोकिएको छ । सुर्खेतदेखि कालीकोटसम्मका लागि १४ हजार रुपैयाँ तोकिएको छ । बड्डीचौरदेखि पश्चिमतर्फका जिल्लाभित्रका क्षेत्रहरूका लागि भने भाडादर ५ हजार ५ सय तय गरिएको छ । सुर्खेतको पश्चिममा पर्ने गुटुबजारदेखि वीरेन्द्रनगरसम्मको एम्बुलेन्स भाडा ७ हजार तोकिएको संघले जनाएको छ । धुलियाबिटदेखि धुलाबारीसम्मका लागि न्यूनतम एक हजारदेखि भेडाबारीसम्मको ५ हजार ७ सय रुपैयाँ तय गरिएको छ ।
त्यसैगरी, रत्नराजमार्गतर्फ वीरेन्द्रनगरदेखि कोहलपुरसम्मको एम्बुलेन्स भाडा ५ हजार तोकिएको छ भने भारतको लखनउसम्मका लागि १५ हजार रुपैयाँ तोकिएको अध्यक्ष नेपालीले बताए । सुर्खेत–दैलेख सडकखण्डमा न्यूनतम १ हजार २ सयदेखि अधिकतम ६ हजारसम्म कायम गरिएको छ । अध्यक्ष नेपालीका अनुसार वीरेन्द्रनगरदेखि नारायणगढसम्मको लागि २५ हजार रुपैयाँ तथा काठमाडौं र पोखराका लागि ३० हजार रुपैयाँ भाडा कायम गरिएको छ ।























कर्म संचार । २०७५ साउन २३ गते बुधवार