चिनी प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा बेचे कारबाही

काठमाडौँ, १८ असोज ।
सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ ।

चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको हो । ‘अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा नबढ्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले भने, ‘सोहीअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छौं ।’ उक्त निर्देशनअनुसार विभागले बजार अनुगमन तीव्र पारेको उनले दाबी गरे । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि हाल बजारमा चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् ।

मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । अहिले मूल्य बढेर ठाउँअनुसार किलोमा १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ । सरकारले तत्काल कदम नचाले मूल्य बढेर प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पुग्ने जानकारहरू बताउँछन् । ‘चाडबाडकै अवसरमा चलखेल बढी हुन्छ । परिमाणात्मक बन्देजले कालोबजारीलाई थप प्रोत्साहन मिलेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बजारभाउ नियन्त्रण गर्न तत्काल आयात फुकुवा अथवा मूल्य नबढ्ने प्रतिबद्धता हुनुपर्छ ।’

‘उद्योगीहरूले मूल्य नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोहीअनुसार मूल्य सार्वजनिकसमेत गरेका छन्,’ प्रवक्ता ढकालले भने, ‘खुद्रा बजारमा अनुगमन तीव्र बनाएर मूल्य नियन्त्रण गर्छौं ।’ बजार अनुगमन जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दैनिक दुईरतीन टोली अनुगमन खटाएको बताए । बढी मूल्य लिने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको उनले बताए ।

‘अनुगमनको क्रममा ठाउँअनुसार ७० देखि ८० रुपैयाँसम्म लिने गरेको भेटियो,’ उनले भने, ‘बढी मूल्य लिनेलाई २४ घण्टाभित्र स्ष्टीकरण पेस गर्न निर्देशन दिएका छौं ।’ विभागका अनुसार साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको बिक्री मूल्य पनि ७० रुपैयाँ नै निर्धारण गर्ने जनाएको छ ।

प्रकाशित मितिः   October 4, 2018 at 8:13 pm 


  • प्रतिक्रिया दिनुहोस्