किसानलाई धान रोप्ने चटारो

कर्णालीमा मध्यअसारसम्म झन्डै ४० प्रतिशत रोपाइँ

सुर्खेतः कर्णाली प्रदेशमा मध्यअसारसम्म ३९ दशमलव १४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मौसमले साथ दिएपछि यसवर्ष कर्णालीका सबैजसो भूभागमा समयमै धमाधम रोपाइँ भइरहेको हो । आकाशे पानीको भर पर्नुपर्ने अधिकांश ठाउँमा समेत रोपाइँ गरिसकिएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यो विवरण असार १३ गतेसम्मको हो । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले त्यसयता दुई दिनमा उल्लेखनीय रोपाइँ भइसकेको बताए । उनी भन्छन्, ‘यो दुई दिनअघिको विवरण हो, त्यसयताको विवरण अद्यावधिक गर्न भने बाँकी छ ।’ निर्देशनालयले दिएको जानकारी अनुसार जुम्ला, हुम्ला र डोल्पामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ सकिएको छ भने जाजरकोटमा सबैभन्दा कम १७ प्रतिशत रोपाइँ भएको छ । यसपटक मनसुन चाँडै सक्रिय भएकाले रोपाइँ पनि छिटै सुरू भएको थियो । पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको सूचना अधिकारी रेग्मीले बताए ।
यतिबेला किसानहरू धान रोप्ने चटारोमा छन् । मौसमले साथ दिएपछि समयमै धमाधम खेत रोप्न पाएका किसानहरू उत्पादन राम्रो हुने अपेक्षामा हर्षित बनेका छन् । कर्णालीमा झन्डै ४१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । जसमध्ये करिब २९ हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको छ ।

प्रकाशित मितिः   June 29, 2025 at 10:58 am 


  • प्रतिक्रिया दिनुहोस्