दशौँ राष्ट्रिय खेलकुद

कर्णालीमा छनाेट चरणका खेल सम्पन्न

सुर्खेत । आगामी मंसिर १६ देखि कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको प्रारम्भिक छनोट प्रक्रिया सम्पन्न भएको छ । सुर्खेतसहित प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएका छनोट प्रतियोगिताबाट १४ खेल विधाका खेलाडी छनोट भएका हुन् । छनोट भएका खेलाडीले  प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने छन् । खेलाडीलाई तिहारपछि बन्द प्रशिक्षणमा राखिने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । घरेलु मैदानमा आयोजना हुने राष्ट्रिय खेलकुदमा कर्णालीको प्रदर्शन सुधार गर्दै पदक जित्ने लक्ष्यसहित खेलाडीलाई थप प्रशिक्षण दिन लागिएको हो । बन्द प्रशिक्षणमार्फत खेलाडीको क्षमता अभिवृद्धि गर्ने, कमजोरी सुधार्ने र प्रतियोगिताका लागि आवश्यक तयारी पूरा गर्ने परिषद्को योजना छ ।

आइतबार आयोजित समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदमा प्रदेशका खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताए । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणबाट थप निखारेर प्रतिस्पर्धाका लागि तयार पारिने विश्वास व्यक्त गर्दै उनले खेलाडी र खेल व्यवस्थापकलाई कर्णालीको पदक तालिकामा सुधार ल्याउने गरी काम गर्न आग्रह गरे । यस्तै,  कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुदको कुशल व्यवस्थापनसँगै घरेलु मैदानमा प्राप्त हुने दर्शकको उत्साहले खेलाडीलाई राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने बताए । प्रतियोगितामा पदक जित्न खेलाडीको तयारी, नियमित प्रशिक्षण र व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने उनको भनाइ छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न छनोट प्रतियोगिताको समापन समारोहमा परिषद्का बोर्ड सदस्य, खेल प्रशिक्षक तथा विभिन्न खेल विधाका खेलाडी सहभागी थिए । समारोहमा प्रतियोगितामा संलग्न खेलाडी, रेफ्री, प्रशिक्षक र व्यवस्थापकलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मितिः   October 19, 2026 at 8:23 pm 


  • प्रतिक्रिया दिनुहोस्