
काठमाडौं । भोटेकोशी नदीमा आज आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा अवस्थित जलविद्युत् आयोजनाहरूमा कार्यरत १ सय ९० कर्मचारी सम्पर्कविहीन भएका छन् ।नेपाल विद्युत् प्राधिकरणले अद्याविधिक गरेको पछिल्लो विवरण अनुसार ती कामदार सम्पर्कविहीन भएका हुन् । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली ३ बीको साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कविहीन छन् ।
चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ र आवास क्षेत्र वरपरबाट १ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । त्रिशूली ३बी आयोजनाको साइटमा कार्यरत ११ कामदार बेपत्ता छन् । उता, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन छन् । त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मत कार्यमा संलग्न ४५ कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीले ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए । नेपाल प्रहरीका पनि ३२ जना र सशस्त्र प्रहरीका पनि ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
प्रकाशित मितिः August 26, 2026 at 7:50 pm


कर्मसञ्चार । २०८३ भाद्र १० गते बुधवार