
सुर्खेत । कर्णाली प्रदेशमा पूर्व बाल क्लबका सदस्यहरूको सञ्जाल गठन गरिएको छ । बालअधिकार, सामाजिक न्याय तथा रूपान्तरणमुखी विकासका लागि योगदान गर्ने उद्देश्यले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न पूर्व बाल क्लबका सदस्यहरूको प्रथम भेलाले पूर्व बाल क्लब सदस्य सञ्जाल गठन गरेको हो ।
भेलाले पूर्व बाल क्लब सदस्यहरू संगठित हुने र बालअधिकारको क्षेत्रमा योगदान गर्न एक कार्यविधिसमेत पारित गरेको छ । उक्त कार्यविधिअनुसार एक वर्षे कार्यकाल र १५ सदस्यीय समिति गठन गर्न कर्णाली प्रदेशका १० वटै जिल्लाका एक–एक प्रतिनिधि गरी १० जना र एक जना दलित, एक जना महिला, एक जना अपाङ्गगता, एक जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक र एक जना सदस्य सचिव रहनेछन् । भेलाबाट उक्त समितिको संयोजकमा सुर्खेतका तेज सोनाम चयन भएका छन् । त्यस्तै, भेलाले उपसंयोजकमा जुम्लाका अनिता विक, सदस्यहरूमा दैलेखका हरिकला खड्का, कालिकोटका बाले विश्वकर्मा, मुगुका अनिता भियाल, डोल्पाका रणबहादुर कार्की, जाजरकोटका जयन्ता खत्री सुधा र सल्यानका प्रकाश नेपालीलाई चयन गरेको छ ।

बाल समूहमा रहेर काम गरेका पूर्व सदस्यलाई संगठित गर्दै उनीहरूको अनुभव, सीप र क्षमतालाई बालअधिकार तथा सामाजिक रूपान्तरणका क्षेत्रमा उपयोग गर्ने लक्ष्य लिइएको छ । साथै, बालबालिका तथा युवाको शिक्षा, सीप र उद्यम विकासमा सहयोग गर्ने तथा सरकार, समुदाय र नागरिक समाजसँग समन्वय एवम् सहकार्य गर्ने उद्देश्य लिइएको छ । भेलाले बालविवाह, छाउपडी, समावेशी तथा गुणस्तरीय शिक्षा, अनलाइन सुरक्षा, लागुऔषध दुर्व्यसन, लैङ्गिक विभेद, प्रजनन स्वास्थ्य अधिकार, जलवायु परिवर्तन तथा विपद् न्यूनीकरणलगायतका सवालमा सहकार्य गर्नेलगायत १२ बुँदे घोषणा–पत्र जारी गरेको छ । घोषणा–पत्रमा बालबालिकाका आवाजलाई परिवार, समुदाय तथा संस्थागत तहमा सुनुवाइका लागि पैरवी गर्ने, बालअधिकारको प्रवर्द्धन, संरक्षण र सुनिश्चिततामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइएको छ ।

कर्णाली प्रदेशमै पहिलो पटक भएको भेलामा विभिन्न समयमा बाल क्लबमा रही योगदान गरेका पूर्व बाल क्लव सदस्यहरू, बालबालिकाका क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त ऐतिहासिक भेला बालअधिकारका लागि साझा अभियान (सिसिआर) कर्णालीको आयोजना तथा सेभ द चिल्ड्रेन, युनिसेफ, प्लान इन्टरनेशनल नेपालको साझेदारीतामा सम्पन्न भएको हो । आयोजक संस्था सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको सभा अध्यक्षतामा भएको भेलामा कर्णाली प्रदेश सभा, सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीको प्रमुख आतिथ्यता, कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्का, उर्मिला विश्वकर्मा, कलबहादुर हमाल, प्रदेश बाल क्लब सञ्जालका उपाध्यक्ष अनुराधा चौलागाई, क्याक्मा सुर्खेतका संयोजक पवित्रा शाही, सेभ द चिल्ड्रेनका रत्नराज ओझा, युनिसेफका दिपक श्रेष्ठ र प्लान इन्टरनेशनलका दिक्षा भाटको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बालबालिकाका विभिन्न सवालबारे प्रस्तुति र शेसनहरू सञ्चालन गरिएको थियो । भेलाको सहजीकरण पूर्व बाल क्लव सदस्य एवम् आयोजक संस्था सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गरेका थिए ।

भेलामा, बालअधिकारको क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै नागरिक समाजका अगुवा पिताम्वर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्य, नेपालमा बाल क्लव दर्ताको कानुनी प्रक्रियाका लागि योगदान गर्ने तिलोतम पौडेललाई सम्मान गरिएको थियो । त्यसैगरी, बालअधिकारको क्षेत्रमा निरन्तर क्रियाशील सेभ द चिल्ड्रेन र स्याक नेपाललाई समेत सम्मान गरिएको छ ।

यस्तो छ भेलाबाट जारी १२ बुँदे कर्णाली घोषणा–पत्र
१. हामी सबै बाल समूहका पुर्व सदस्यहरू बाल क्लब पूर्व सदस्य सञ्जालमा सहभागी हुन प्रेरित गर्न सहमत भएका छौं ।
२. यस सञ्जाललाई संस्थागत रूप दिन र सुदृढीकरणमा सहयोग गर्न तयार छौं ।
३. तत्कालीन समयका बाल संरक्षण र उत्तरदायित्व लिएका सरकारी संरचनाहरूको सुदृढीकरणमा निरन्तर सहयोग गर्ने ।
४. सीप, क्षमता र रुचीका आधारमा कार्य जिम्मेवारी विभाजन गर्ने ।
५. आत्मनिर्भरतालाई अवलम्बन गरी त्यसको विकास र सुदृढीकरण गर्ने ।
६. भूगोल, विचार, सक्रियता अनुभव एवम् विविधतालाई सम्मान गर्दै गैर राजनीतिक र धार्मिक तटस्थता कायम गर्ने ।
७. अनुसन्धान, तथ्य र तथ्याङ्ककमा आधारित बोली, भाषा र व्यवहारको सम्मान र प्रवर्द्धन गर्ने ।
८. संवाद, सहकार्य, समन्वय र साझेदारीमा आधारित कार्य गर्ने ।
९. समावेशी, समता, समानतामुखी व्यवहार र सक्रियतालाई अवलम्बन एवम् प्रवर्द्धन गर्ने ।
१०. अधिकारमुखी अवधारणालाई अवलम्बन र सम्मान गर्ने ।
११. बालअधिकार प्रवर्द्धन, संरक्षण र सुनिश्चित गर्न जो जहाँ भएपनि सक्रिय भूमिकामार्फत योगदान दिने ।
१२. बाल समूह र बाल आवाज उठाउन, बालबालिकाहरूको आवाज परिवार, समुदाय र संस्थागत तहमा सुनुवाईका लागि पैरवी गर्ने ।


कर्मसञ्चार । २०८३ साउन २४ गते आइतवार