वीरेन्द्रनगर–८ बन्यो वातावरण र बालमैत्री वडा

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाको ८ नम्बर वडालाई वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका र वातावरणसम्बन्धी तोकिएका आधारभूत सूचकहरू पूरा भएसँगै शनिवार औपचारिक समारोहकाबीच वडालाई वातावरणमैत्री तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । घोषणासँगै यो सुर्खेतमै पहिलो वातावरण तथा बालमैत्री वडा बनेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वातावरण तथा बालमैत्री वडा घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बालबालिका र वातावरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए । उनले बालबालिकाको संरक्षण, विकास र सहभागिताको सुनिश्चितता गर्न स्थानीय, प्रदेश र संघ सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने औल्याए । ‘स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुन्,’ उनले भने, ‘प्रदेश सरकारले बालमैत्री समाज निर्माणमा आवश्यक नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिँदै आएको छ ।’ तीनै तहका सरकारले गर्ने विकास निर्माण वातावरणमैत्री हुनुपर्नेमा उनको जोड थियो ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले सिङ्गो वीरेन्द्रनगरलाई नै बाल तथा वातावरणमैत्री पालिका बनाउने अभियानका साथ अघि बढिएको बताइन् । नगरपालिकाबाट तय हुने नीति र सञ्चालन हुने विकास निर्माणका काम बाल तथा वातावरणमैत्री अवधारणमा भइरहेको उनको भनाइ थियो । स्थानीय तहलाई बालमैत्री घोषणाका लागि संघीय सरकारद्वारा जारी निर्देशिका र कार्यविधिअनुसार कम्तिमा ५१ सूचक र पाँच चरणअन्तर्गत २८ खुड्किलामा तोकिए बमोजिमको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः   July 5, 2025 at 10:01 pm 


  • प्रतिक्रिया दिनुहोस्