कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् । कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर छलफलका क्रममा मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
प्रदेशसभामा सम्बोधन गर्दै कँडेलले आफू सत्ता जोगाएर बस्ने पक्षमा नरहेको स्पष्ट पारे । कँडेलले आफूले सत्ता हस्तान्तरणका विषयमा सकारात्मक धारणा राख्दा पनि कांग्रेस नेतृत्वबाट आवश्यक पहल नभएको दाबी गरे । सार्वजनिक रूपमा आफूविरुद्ध गरिएका टिप्पणीप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । कँडेलले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरणका लागि पहल गर्न यसअघि नै आग्रह गरेको बताए । ‘मैले कांग्रेस दलका नेतालाई पहल गर्नुस् भनेकै हो, गठबन्धन हामीले यहाँ बनाएको होइन, माथिबाट बनेकाले माथि नै पार्टीमा छलफल गर्नुस् भनेको थिएँ,’ उनले भने, ‘तपाईंले पहल गर्नुभयो भने म तयार छु भनेकै हो ।’

यसअघि गत असार ३१ गते सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए । आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले पद त्याग गरेका थिए । मन्त्रीहरूको राजीनामाको भोलिपल्ट कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । पछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भई कांग्रेस–एमाले गठबन्धन बनेसँगै २०८१ साल साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको थियो ।

प्रकाशित मितिः   July 26, 2026 at 4:14 pm 


  • प्रतिक्रिया दिनुहोस्