जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका ९० प्रतिशत योजना कार्यान्वयनमा

सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का योजना कार्यान्वयनमा तिव्रता दिएको छ । मन्त्रालयले यसवर्ष बजेट विनियोजन भएका एकहजार दुई सय ४२ योजना कार्यान्वयनमा लगेको हो । चालु वर्षका कूल एक हजार तीन सय ७६ योजनामध्ये मन्त्रालयले झण्डै ९० दशमलव २६ प्रतिशत योजना कार्यान्वयनमा लगेको जनाएको छ । बाँकी एक सय ३४ वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी (इन्जिनियर) सागर आचार्यले एक सय ३९ वटा योजना सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार ५६ वटा योजना भने विभिन्न कारणले कार्यान्वयन हुन सकेका छैनन् । जिल्लागत विवरण अनुसार सुर्खेतमा सबैभन्दा धेरै एक सय ७७ योजना सञ्चालनमा रहेकामा एक सय ६८ वटा कार्यान्वयन भइसकेका छन् । यस्तै, दैलेखमा एक सय ८३ मध्ये एक सय ७४, सल्यानमा ७९ मध्ये ७४, कालिकोटमा एक् सय ५९ मध्ये एक सय ५३, जुम्लामा एक सय चार चार मध्ये ९७ र मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन् ।
त्यसैगरी, रूकुम–पश्चिममा एक् सय ४३ मध्ये एक सय २०, जाजरकोटमा एक सय १३ मध्ये एक सय दुई, डोल्पामा एक सय छ मध्ये एक सय एक तथा हुम्लामा दुई सय २२ मध्ये दुई सय योजना कार्यान्वयन भएको सूचना अधिकारी आचार्यले जनाए ।
चालु आर्थिक् वर्ष २०८२/८३ मा उक्त मन्त्रालयका लागि तीन अर्ब ८३ करोड तीन लाख बजेट विनियोजन भएकोमा हालसम्म ९४ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । जसमा चालुतर्फ ५३ दशमलव ३ र पुँजीगततर्फ २२ दशमलव ४१ प्रतिशत गरी जम्मा २४ दशमलव ६० प्रतिशत बजेट खर्च भएको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले अधिकांश योजना सन्तोषजनक रूपमा कार्यान्वयन भएको बताउँदै बाँकी योजनाहरूलाई शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको बताइन् । योजना कार्यान्वयनको गतिसँगै गुणस्तरमा पनि विशेष ध्यान दिएर मन्त्रालयले बजेट कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   April 24, 2026 at 11:24 am 


  • प्रतिक्रिया दिनुहोस्