कृषि क्षेत्रका उपलब्धिबारे समीक्षा

सुर्खेत । नेपालले कृषि क्षेत्रमा हालसम्म प्राप्त गरेका उपलब्धिबारे समीक्षा गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको आयोजनामा शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको हो । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सरोकारवाला सहभागि कार्यक्रममा विश्वव्यापार संगठन (डब्ल्युटीओे) को प्रावधान र कृषि क्षेत्रको अवस्थाबारे अनुभव आदान–प्रदान भएको छ ।
कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले विश्वव्यापार संगठनको सदस्य बनेर नेपालले थुप्रै अवसरसँगै उपलब्धिहरू प्राप्त गरेको बताए । उनले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले आगामी रणनीति तथा योजना तय गर्न मदत पुग्ने विश्वास व्यक्त गरे । कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ डा. मणिरत्न अर्यालले कृषि क्षेत्रमा विद्यमान कानूनी प्रावधान, प्रगति र कठिनाइका विषयमा जानकारी गराएका थिए । उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन डब्ल्युटीओका अवसर र चुनौतिबारे प्रस्तुतिकरण गरे । त्यस्तै, मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले कृषि क्षेत्रलाई प्रतिस्पर्धी, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डको बनाउन सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए । तिवारीले कृषिजन्य उत्पादन र त्यसको बजारिकरणमा सबैको हातेमालो आवश्यक रहेको औल्याए ।
मन्त्रालयका कृषि अर्थ विज्ञ कुसुुम भुसालले सहजीकरण गरेको कार्यक्रममा कृषि उपजको बजारिकरण, भूगोलको पहिचानसँग जोडिएका उत्पादन, भौगोलिक संकेत (जीआई) र त्यसको कानूनी व्यवस्थाका लागि भइरहेका तयारीबारे छलफल भएको थियो । कार्यक्रमका सहभागिले कृषि उत्पादनमा वृद्धि तथा अन्तर्राष्ट्रिय व्यापारमा नेपाली कृषि वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रकाशित मितिः   July 4, 2026 at 7:21 am 


  • प्रतिक्रिया दिनुहोस्