सरकारको विज्ञापन नीतिविरुद्ध मुख्यमन्त्री कार्यालयमा महासंघको धर्ना

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयको विरोधमा धर्ना कार्यक्रम गरेको छ । सोमबार कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा उक्त निर्णय खारेजीको माग गर्दै एक घण्टा धर्ना दिइएको हो । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध महासंघ झन्डै डेढ महिनादेखि देशव्यापी रुपमा आन्दोलित छ । महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ गते गरेको विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजीको माग गर्दै आएको छ । सरकारको सो निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुला अर्थ नीति र संघीयताविपरीत रहेको महासंघको ठहर छ । प्रदेश समितिले आयोजना गरेको विरोध कार्यक्रममा महासंघ केन्द्र, प्रदेश र जिल्लाका प्रतिनिधि तथा सञ्चारसम्बद्ध संगठन एवम् क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   June 15, 2026 at 5:20 pm 


  • प्रतिक्रिया दिनुहोस्