कर्णालीमा प्रदेशस्तरीय मनसुन फोरम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक ‘मनसुन फोरम–२०२६’ सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपुल इन निड (पिन) को प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा मनसुन फोरम आयोजना गरिएको हो । कार्यक्रममा यस वर्ष कर्णालीसहित देशभरको मनसुन परिदृश्य, पूर्वानुमान र सम्भावित जोखिमहरूको आँकलन तथा जोखिम न्यूनीकरणका सवालमा छलफल भएको छ । मनसुन पूर्वतयारी तथा पूर्वकार्यका लागि सरोकारवाला निकायबीच समन्वय, सहकार्य र पूर्वतयारीलाई सुदृढ बनाउन कार्यक्रम आयोजना गरिएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कँडेलले बताइन् । उनले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् ।


फोरमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मनसुनजन्य विपद्को जोखिम कम गर्न सबै निकायको हातेमालो आवश्यक रहेको औंल्याए । उनले सरोकारवाला निकायबीच समन्वय र सहकार्यमा जोड दिनुपर्ने भन्दै प्रदेश सरकारले विपद् पूर्वतयारी योजना बनाएर जोखिम न्यूनीकरणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउँदै प्रमुख सचिव यादवले यस्ता कार्यक्रमले सरोकारवाला निकायको जिम्मेवारी र भूमिकालाई थप प्रभावकारी बनाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मनसुन अवधि २०८३ को जलवायु आँकलन, मनसुनजन्य सम्भावित प्रकोप, प्रभाव र जोखिमहरूबारे प्रस्तुतिकरणसहित गहन छलफल भएको थियो । मौसमजन्य विपद् जोखिम न्यूनीकरण र जलवायु आँकलनबारे जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख कँडेल र मनसुन पूर्वतयारी एवम् सम्भावित प्रभावबारे पिपुल इन निड (पिन) का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले प्रस्तुति राखेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णसहित प्रदेश तथा जिल्ला आपत्काकालीन कार्य सञ्चालन केन्द्र, विषयगत क्षेत्र, विकास साझेदार विभिन्न निकायका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   June 10, 2026 at 7:23 am 


  • प्रतिक्रिया दिनुहोस्