अटो चालक आन्दोलित

सुर्खेत, २३ माघ ।
सुर्खेतमा अटो चलाउँदै आएका चालकहरू आन्दोलित भएका छन् । अटो चालकको मनोमानी रोक्न वीरेन्द्रनगर नगरपालिकाले अटो तथा ई–रिक्सा व्यवस्थापन निर्देशिका–२०७५ कार्यान्वयनमा ल्याएसँगै उनीहरू आन्दोलित भएका हुन् । रिक्सा चालकले विरोधस्वरुप आज (बुधबार) अटो सेवा बन्द गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले निर्देशिका अनुसार नयाँ अटो दर्ता शुल्क ५ हजार तोकेकोले त्यसविरुद्ध केही दिन पहिलेदेखि अटो व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका हुन् । अटो किन्दा  दोहोरो कर तिर्नुपरेको भन्दै उनीहरुले निर्देशिका नमान्ने अडान राखेका छन् ।

‘नेपाल सरकारलाई नै तिर्नुपर्ने कर दुई/दुई ठाउँमा कसरी तिर्नु,’ अटो चालक बिबि सोनीले भने, ‘दोहोरो करका कारण अटो व्यवसायी मारमा परेका छौं ।’ नगरपालिकाले अटो चालकको दैनिकीमाथि खेलवाड गरेको उनको आरोप छ ।

यता, विरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले नगरसभाले पास गरेको कानुन मान्नै पर्ने बताए । ‘नगरसभाबाट पास भएको कानुन उहाँहरूले मान्दैनौं भन्न पाइँदैन,’ सुवेदीले भने, ‘तत्काल ऐन संशोधन गरिहाल्न सकिने अवस्था पनि छैन ।’

अटो रिक्साका कारण कर्णालीको राजधानीमा भइरहने दैनिक दुर्घटना र चालकको मनोमानीलाई रोक्न रुट परमिट र भाडादरसमेत तोकिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

प्रकाशित मितिः   February 6, 2019 at 3:25 pm 


  • प्रतिक्रिया दिनुहोस्