
सुर्खेत । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको बोर्डको ठहर छ । बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।
यही जेठ ११ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ । आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ । वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रकम भुक्तानी रोकिँदै आएको र त्यसकै दबाबमा अन्तत: बोर्ड सेवा कटौती गर्न बाध्य भएको स्रोतहरूको भनाइ छ । सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ ।
प्रकाशित मितिः May 27, 2026 at 12:05 pm













कर्मसञ्चार । २०८३ जेष्ठ १३ गते बुधवार