
सुर्खेत । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा परेका छन् । बैठकमा एक्कासि प्रश्न–उत्तरका लागि उपस्थित भएका प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको विषय आफूले थाहा पाएको बताएका हुन् । उनको यो अभिव्यक्तिले संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालयलाई थप अलमलमा पारेको अधिकारीहरू बताउँछन् । रास्वपा सभापति लामिछाने तीन सदस्यीय टोलीसहित सोमबार भारत भ्रमणमा जाँदैछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ । त्यसैको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले भारतीय जग्गा मिचिएको कुरा उठाउँदा यही विषय दिल्लीले पनि उठाए के जबाफ दिने भन्ने परराष्ट्रलाई अन्यौल परेको हो ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक र लिम्पियाधुरा सीमा विवादबारे सोधेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘यो विषय कूटनीतिक रूपमा टेबल टक… तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ उनले थपे, ‘यो कुरा मलाई अस्ति भर्खर थाहा भयो, हामीले मिचेका छौं, उहाँहरूले मिच्नुभएको छ । बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौं ।’
अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपले कहीँ पनि कहिल्यै नसुनिकएको यस्तो कुरा स्वयं प्रधानमन्त्रीबाट संसदमा अभिव्यक्त भएपछि त्यसले विवाद निम्त्याएको छ । प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् भने परराष्ट्र मन्त्रालयलाई पनि ’नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो ?’ भन्ने प्रश्नको जबाफ दिन अप्ठ्यारो परेको छ ।
प्रकाशित मितिः June 1, 2026 at 12:45 pm













कर्मसञ्चार । २०८३ जेष्ठ १८ गते सोमवार