कालिकोट, १२ असोज ।
कालिकोटको खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हरेर घर फर्किने क्रममा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्थानीय आठजना युवालाई पक्राउ गरेको हो ।
पीडितले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख (डिएसपी) विनोद शर्माले बताए । घटनामा संलग्न भएको अभियोगमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय सर्जन विक, १८ वर्षीय गोर्ख विक, खाँडाचक्र नगरपालिका–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।
पीडितले जाहेरी दिएपछि प्रहरीको सक्रियतामा १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका अभियुक्तलाई नातागोताको घर र पाखाकै लेकाली क्षेत्रबाट पक्राउ गरिएको डिएसपी शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


कर्मसञ्चार । २०७५ असोज १२ गते शुक्रवार