
सुर्खेत । सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । कर्णाली प्रदेश सभाले प्रदेश राजधानी सुर्खेतदेखि हिमाली जिल्ला मुगु, जुम्ला, हुम्ला र डोल्पामा नियमित रूपमा सिधा हवाईसेवा सञ्चालनका लागि सङ्कल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । योसँगै हिमाली जिल्लामा सिधा हवाईसेवाको प्रयास थालिएको छ । हिमाली जिल्लामा सिधा हवाईसेवा सञ्चालनका लागि प्रदेश सभा बैठकमा निर्णयार्थ पेस गरिएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रदेश सभा सदस्य टेकराज पछाई र दक्षिणा शाहीको समर्थनमा प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । विष्टले राखेको प्रस्तावमा अर्का प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले पनि समर्थन गरेकी थिइन् ।
हालसम्म कर्णाली प्रदेश राजधानी सुर्खेतबाट हिमाली जिल्लामा सिधा हवाईसेवा छैन । हिमाली जिल्ला जानका लागि लुम्बिनी प्रदेशको नेपालगन्ज भएर जानुपर्ने बाध्यता छ ।
सङ्कल्प प्रस्तावमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट पहाडी तथा दुर्गम जिल्ला मुगु, जुम्ला, हुम्ला र डोल्पामा नियमित हवाईसेवा सञ्चालन गर्न प्रदेश सरकारले गम्भीरतापूर्वक आवश्यक पहल गर्ने, हवाईसेवा सञ्चालनका लागि संघीय सरकार, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र निजी वायुसेवाप्रदायकसँग आवश्यक समन्वय र सहकार्यका लागि पहल गर्ने, हवाईसेवा सञ्चालनलाई दिगो र नियमित तथा प्रभावकारी बनाउन अनुदान दिने, सहुलियत वा सार्वजनिक नीति साझेदारी (पिपिपि) मोडल अवलम्बन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
सङ्कल्प प्रस्ताव कार्यान्वयन भएमा कर्णाली प्रदेशका नागरिकको जीवनस्तरमा सुधार हुने, सेवा पहुँचको विस्तार र देशको समग्र सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मितिः March 25, 2026 at 12:41 pm























कर्मसञ्चार । २०८२ चैत्र ११ गते बुधवार