वीरेन्द्रनगर, १२ भदौ ।
वीरेन्द्रनगर –७ स्थित जुनकीरी कटेजका सञ्चालक राजकुमार उपाध्यायले श्री महालक्ष्मी को–अपरेटिभ लि. मा एक वर्षसम्म दैनिक बचत गरे । सानो होटल व्यवसायबाट जीविकोपार्जन गरिरहेका उनलाई बचत गर्न अनुरोध गर्दै सहकारीका कर्मचारी होटलमै पुगे । एक÷दुईवटा अन्य सहकारीमा पनि बचत गर्दै आएका उपाध्यायलाई लाग्यो, आफ्नै बचत बढ्ने हो । उनी महालक्ष्मीको बचतकर्ता बने ।
एक वर्षसम्म दैनिक धेरथोर बचत गर्दै गए । अब ऋण झिकेर व्यवसाय बढाउँला भन्ने सोचिरहेका उपाध्यायकोमा सहकारीका बचत संकलन गर्ने कर्मचारी आउनै छाडे । बचत संकलन गर्न नआएपछि उनले वीरेन्द्रनगरको तातापानीस्थित सहकारीको कार्यालयमा फोन लगाए । बारम्बार गर्दा पनि फोन उठेन । भोलिपल्ट १० बजे नै सहकारीको कार्यालयमा पुग्दा बोर्ड थिएन । गेटमा ताला झुन्ड्याइएको थियो ।
उनले सोधिखोजी गर्दा थाहा भयो, सहकारीका अध्यक्ष सागर भारतीलगायत सञ्चालक समिति बचतकर्ताको पैसा लिएर फरार भइसकेका रहेछन् । ‘मेरो मात्रै झन्डै २० बीस÷बाईस हजार जम्मा भएको हुँदो हो,’ उपाध्यायले भने, ‘मजस्ता हजारौंको बचत लिएर सहकारीको अध्यक्ष भागे छ ।’
त्यसपछि उनी न्याय माग्न अरु पीडित बचतकर्तासंगै सिडिओ कार्यालय पुगे । उनीहरुलाई त्यहाँबाट डिभिजन सहकारी कार्यालय पठाइयो । दुबै निकायबाट एउटै जवाफ आयो, ‘तपाइँहरुका पैसा दिलाउँछौं । ठगी गर्नेलाई कारवाही हुन्छ ।’ झन्डै वर्षदिन बित्न लाग्यो, न पीडित बचतकर्ताहरुले पैसा पाए न सञ्चालक भारतीको पत्तो नै लाग्यो ।
सहकारीको ठगी यो प्रतिनिधिमुलक घटना मात्र हो । पछिल्लो समय सर्वसाधारणको पैसा बचत गरिदिने नाउँमा ठगि गर्ने, लाखौं रकम लिएर फरार हुने, ऋणीबाट चर्को व्याज असुल्ने र गैर शेयर सदस्यबाट पनि बचत उठाउने जस्ता विकृतिका घटना सहकारीमा बढ्दै गएका छन् ।
‘सहकारीको विनियमअनुसार शेयर सदस्यबाट मात्रै बचत संकलन गर्न पाइने व्यवस्था छ,’ एक सहकारी अभियान्ताले भने, ‘तर, यहाँ त जो सुकैबाट बचत उठाउने गरिएको छ ।’ बचतकर्ताहरुको पैसा यसकारण पनि जोखिममा पर्ने गरेको उनले बताए । शेयर सदस्य नभएरै बचत गर्दा ठगीएको प्रर्याप्त प्रमाण नपुग्ने हुँदा बचतकर्ताले शेयर सदस्य भएर मात्रै बचत गर्नुपर्ने उनले बताए । सुर्खेतका अधिकांश सहकारीहरुले राष्ट्र बैंक र सहकारी विभागको स्वीकृति विना नै लघुवित्त कार्यक्रम सञ्चालन गरी ऋणीबाट चर्को व्याज असुल्ने गरेको पाइएको छ ।
सहकारी मापदण्डअनुसार ऋण लिँदा र दिँदा व्याजको अन्तर ६ प्रतिशत भन्दा बढी हुनु हुँदैन । तर, सहकारीहरुले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म मनोमानी व्याज लिने गरेका छन् ।
सहकारी संस्थाहरु पैसा बचत गर्ने र ऋण दिनेमा मात्रै सिमित छन् । अधिकाश संस्थाहरु मुल सिद्धान्त अनुरुप चल्न सकेका छैनन् । ‘व्यवहारिकताका नाममा विकृति देखिएको छ । अधिकांश सहकारी उत्पादनशिल क्षेत्रमा केन्द्रित छैनन्,’ सहकारी डिभिजन कार्यालय सुर्खेतका निमित्त सहकारी अधिकृत भिमप्रसाद वाग्लेले भने, ‘सेवाभन्दा व्यवसायमा बढी चासो दिएको पाइन्छ ।’ गैर सदस्यले सहकारीमा बचत नगर्न उनले सुझाव दिए । ‘सहकारीले शेयर सदस्यबाट मात्रै कारोबारो गर्न पाउँछन् । अरुले पनि बचत गर्दा त्यस्तो बचत जोखिममा पर्न सक्छ,’ वाग्लेले भने ।
गत बैशाख २३ गतेदेखि सहकारी दर्ता, अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई छ । पहिलेको ऐनमा नियमन, दण्ड, जरिवाना फितलो थियो,’ उनले भने, ‘अब सहकारी ऐन–२०७४ लागू भइसकेकाले सहकारीहरु व्यवस्थित हुने अपेक्षा गर्न सकिन्छ ।’ केही सहकारी मनोमानी गरेपनि अधिकांश सहकारी उद्देश्य अनुरुप सञ्चालन भइ सेवा दिइरहेको उनले दावी गरे । सहकारी ऐन–२०७४ अनुसार सहकारी ठगीलाई पनि बैकिङ कसुर सरह परिभाषित गरी मुद्दा बैकिङ कसुर सरहको कार्यविधिमै चल्ने व्यवस्था छ ।
जिल्लामा सञ्चालित सहकारीहरुले कार्यक्षेत्रभन्दा बाहिर गएरपनि काम गर्ने, नजिकका व्यक्तिहरु र नक्कली ऋणीहरु खडा गरेर ऋण प्रवाह गर्ने जस्ता विकृति सहकारीमा छन् । घरैपिच्छे स्थापना भएका सहकारीमा प्रभावकारी अनुगमन हुन नसक्दा सहकारीको नाममा ठगी धन्दा फस्टाउँदै आएको छ ।
सहकारी संस्थाहरुले अपारदर्शी ढङ्गले खर्च गरेर मुनाफा लुकाउने, मनोमानी ढंगले ब्याजलाई साँवामा जोडी त्यसको पनि चर्को ब्याज असुल्नेसम्मका नियम विपरितका कार्य गर्दै आएका छन् । सहकारी संस्थाले जति मुनाफा आर्जन गरे पनि वार्षिक १५ प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न नपाउने कानुनी प्रावधान रहेका कारण सञ्चालक समितिका सदस्यहरुको मिलेमतोमा विभिन्न शीर्षक देखाएर अपारदर्शी ढङ्गले खर्च गर्ने गरेको स्रोतको दाबी छ ।
सहकारी क्षेत्रमा ठग्ने र सर्वसाधारणको पैसा लिएर भाग्ने क्रम बढ्ने गरेको भएपनि त्यसलाई रोक्न सरकारी निकायले अझै कुनै पहल गर्न सकेको छैन । नियामक निकायले कमजोर कानुन र जनशक्तिको अभाव भन्दै यसतर्फ खासै ध्यान नदिने गरेका छन् । मुलुकमा फस्टाउँदो सहकारीप्रति आम जनताको आकर्षण बढ्दै गएको भएपनि सहकारीमा लागेर रातारात मालामाल बन्ने सपना देखेका केही खराब नियत भएका व्यक्तिहरु यस्तो कार्यमा संलग्न हुने गरेको पाइँन्छ ।
स–साना रुपमा बजारमा छरिएर रहेका पुँजीहरुलाई एकत्रित गरेर उनीहरुलाई आपत परेको समयमा गर्जो टार्ने तथा स–साना परियोजनामा लगानी गर्ने सहकारीको मूल उद्देश्य रहे पनि केही सहकारीका सञ्चालकहरुले घरजग्गाको कारोबार, कतिपयको ढुकुटीमा लगानी, कैयौं सहकारीको शेयरमा लगानी गर्ने गरेका छन् ।
सहकारी स्वनियममा चल्ने संस्था भएपनि अधिकाशं सहकारी संस्थाका सञ्चालकको मनोमानीका कारण अनुशासन हराउँदै गएको छ । सुर्खेतमा विभिन्न प्रकृतिका गरी ६ सय ९ सहकारी संस्था सञ्चालनमा छन् ।













कर्मसञ्चार । २०७५ भाद्र १२ गते मंगलवार