वीरेन्द्रनगरमा शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले प्रधानाध्यापकहरूसँग करार कार्यसम्पादन सम्झौता गरेको छ । शिक्षा सुधारको लक्ष्यअनुरुप प्रशासनिक र शैक्षिक जिम्मेवारी पुरा गर्न नगरले पहिलोपटक कार्यसम्पादन सम्झौता गरेको हो । नगरमा रहेका ५८ वटै विद्यालयका प्रधानाध्यापकहरूसँग नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख (वरिष्ठ उप–सचिव) धीरेन्द्रप्रसाद शर्माले करार कार्यसम्पादन सम्झौता गरेका हुन् । बुधबार प्रधानाध्यापकहरूको भेला गरी २६ बुँदे कार्यसम्पादन सम्झौता गरिएको शर्माले बताए । नगर शिक्षा समितिले कार्यविधि बनाएर गएको कात्तिकमा प्रधानाध्यापक व्यवस्थापन, दरबन्दी मिलान र विद्यालय समायोजनलगायतका शैक्षिक सुधारका निर्णय गरेको थियो । सोही निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेक्रममा प्रधानाध्यापकहरूको भेला गरी कार्यसम्पादन सम्झौता गरिएको हो ।
करार सम्झौतामा विद्यालय शिक्षाको समग्र अवस्था सुधार गर्ने, अबको १० वर्षमा वीरेन्द्रनगरलाई उत्कृष्ठ शैक्षिक केन्द्रस्थलका रूपमा विकास गर्नेगरी आधारहरू तयार गर्नेलगायतका बुँदाहरू समेटिएको छ ।


प्रधानाध्याकहरूको भेलालाई सम्बोधन गर्दै नगर प्रमुख मोहनमाया ढकालले विद्यालय सुधार आफ्नो पहिलो योजना र मुख्य प्राथमिकता रहेको बताइन् । उनले सम्झौताअनुसार नतिजा निकाल्नेगरी कार्यसम्पादनमा लाग्न प्रधानाध्यापकहरूलाई अनुरोधसमेत गरिन । ‘तपाईं–हामी सबैले शिक्षामा गुणस्तर चाहेका छौं,’ उनले भनिन्, ‘त्यसका लागि आ–आफ्नो ठाउँबाट अधिकतम मेहनत आवश्यक छ ।’ नगर प्रमुख ढकालले वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउन आवश्यक पर्ने स्रोत तथा जनशक्ति व्यवस्थापनसहितका सबै प्रयासहरू गरिने बताइन् ।

भेलामा नगर शिक्षा समिति सदस्य गंगगाराम तिमिल्सेनाले शैक्षिक सुधारका लागि बनेका कानून र कार्यविधिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले शिक्षामा लगानी बढाउनुपर्नेमा समेत जोड दिए । ‘शिक्षाका लागि हामीले अहिले गरिरहेको लगानी पर्याप्त छैन,’ उनले भने, ‘यसलाई विशेष प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नैपर्ने देखिन्छ ।’ वीरेन्द्रनगरलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने गरी सरोकारवाला निकायले हातेमालो गर्नुपर्ने उनको भनाइ थियो । प्रधानाध्यापकहरूको भेलामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगरले शैक्षिक सुधारका लागि थुप्रै प्रयासहरू गरिरहेको बताउँदै त्यसको कार्यान्वयनमा सरोकारवालाहरूको योगदानको अपेक्षा गरिएको जनाए ।

प्रकाशित मितिः   January 29, 2026 at 9:41 am 


  • प्रतिक्रिया दिनुहोस्