
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आइतबार बसेको सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । पछिल्लो घटनाक्रमबारे छलफल गरेर आवश्यक निर्णय लिन बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटीको १०औं बैठक यही असोज २६ देखि २९ गतेसम्म काठमाडौंमा बस्नेछ,’ उनले आइतबारको सचिवालय बैठकपछि निर्णय सुनाउँदै भने । त्यसअघि असोज १९ र २० मा केन्द्रीय सचिवालयको अर्को बैठक बस्ने उनले जानकारी दिए ।

यस्तै, सचिवालय बैठकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ ले आज आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरिएको र दसैंको मौका छोपेर प्रतिशोध साँधिएको एमालेले ठहर गरेको छ।
‘दसैंको मौका पारेर गरिएको राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,’ एमालेले भनेको छ। हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारवाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई निर्देशन गरेको भन्दै एमालेले त्यसप्रति पनि आपत्ति जनाएको छ।
‘यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ। पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गर्दछ,’ एमालेले भनेको छ।















कर्मसञ्चार । २०८२ असोज १२ गते आइतवार