यार्चागुम्बुले भाउ पाएन

मुगु, ७ भदौ ।

तिब्बतमा यार्चागुम्बुले भाउ नपाएपछि स्थानीयबासी र व्यापारी मर्कामा परेका छन् । बर्सेनि यार्चाको भाउ घट्दै गएकाले तिब्बतमै बिकाउन मुस्किल भएको हो ।

यार्चा संकलकबाट खरिद गरी व्यापारीले बढी कमाइ हुने आशामा बोकेर तिब्बत पुर्‍याएका थिए । यार्चा खपत हुन नसकेपछि दुई दर्जन बढी व्यापारी निराश भएका छन् । पाटन क्षेत्रमा प्रतिकिलो १७ लाख ५० हजार रुपैयाँमा यार्चा खरिद गरिएको थियो । बिक्रीका लागि तिब्बत पुर्‍याउँदा बिक्री गर्न नसकेको व्यापारीको गुनासो छ । तिब्बती व्यापारीले यार्चाको प्रतिकिलो १४ लाखभन्दा बढी दिन मानेका छैनन् ।

घाटा खाएर बेच्न नसकेपछि झोलामा थन्क्याएको व्यापारी कार्मा तामाङले बताए । ‘४ लाख ५० हजार घाटा सहेर कसरी यार्चा बेच्नु,’ उनले भने, ‘असारमा तिब्बती व्यापारीले प्रतिकिलो २० देखि २५ लाखसम्ममा खरिद गरेकाले उत्साही भएर धेरै मूल्यमा खरिद गरियो, अहिले मूल्य घटयो ।’ उक्त मूल्यमा यार्चा बिक्री गर्न नसकिने उनको भनाइ छ ।

यार्चाको मूल्यको तलमाथि हुँदा तिब्बतमै पुगेर पनि बिक्री गर्न नसकिएको व्यापारीको गुनासो छ । बिक्री हुन नसकेपछि व्यापारी निरास भएको मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘मुगु सीमाको तिब्बतमा यार्चा बिक्री नभएपछि व्यापारी डोल्पाका क्याडो नाकातिर जान थालेका छन्,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तु किनमेल गर्न तिब्बत गएका स्थानीय सामान ल्याएर घर फर्कंदै छन्, व्यापारी भने यार्चा बेच्न भौंतारिरहेका छन् ।’

केही व्यापारी अन्तिममा मूल्य पाएर बेच्न सकिन्छ भन्ने आशामा छन् । यार्चा बेचेर आएको रकमले खाद्यवस्तु, मदिरा, भेंडाच्यांग्रालगायत खरिद गर्न गएका व्यापारी अलमलमा परेको स्थानीयको भनाइ छ । केही व्यापारी आफ्नो यार्चा बेचिदिनु भन्दै अर्कालाई जिम्मा दिएर घर फर्किएका छन् ।

यार्चाको अहिले तिब्बतमा खासै चर्चा नहुने गरेको स्थानीयको भनाइ छ । मुगमकार्मारोङ गाउँपालिकाको विभिन्न वन क्षेत्रबाट करिब तीन क्विन्टल बढी यार्चा संकलन भएको अध्यक्ष लामाको भनाइ छ । तिब्बतमै यार्चा बेच्न मुस्किल हुन थालेपछि महत्त्व घट्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   August 23, 2018 at 12:51 pm 


  • प्रतिक्रिया दिनुहोस्