
सुर्खेत । गाउँपालिका र नगरपालिकालाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरिएको छ। सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदानका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रमको प्रस्ताव पेस गर्न भनेको छ।समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो। मन्त्रालयले आगामी माघ मसान्तभित्र समपुर र विशेष अनुदानका लागि प्रस्ताव पेस गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरेको छ। प्रस्ताव आगामी माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत पेस गर्न मन्त्रालयले सबै स्थानीय तहलाई गरिएको परिपत्रमा उल्लेख छ।
सोही आधारमा माघ मसान्तभित्र समपूरक र विशेष अनुदानका लागि कार्यक्रम र आयोजना प्रस्ताव गर्नुपर्ने हुन्छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ। सङ्घीय सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेपछि प्रदेश सरकारले असार १ गते र सबै स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेस गर्नुपर्ने अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा उल्लेख छ।
प्रकाशित मितिः December 22, 2025 at 11:46 am


कर्मसञ्चार । २०८२ पुष ७ गते सोमवार