
सुर्खेतः कर्णाली प्रदेशका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत मंगलबार १० जिल्लाका शिक्षकलाई सम्मान गरिएको हो । उत्कृष्ट शिक्षक छनौट मापदण्डका आधारमा शिक्षकलाई सम्मानित गरिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जनाए । शिक्षा विकास निर्देशनालयले उत्कृष्ट शिक्षक छनौट गरेको हो । प्रत्येक जिल्लाबाट माध्यमिक तह एक निम्नमाध्यमिक तह एक, प्राथमिक तह एक गरी जम्मा तीन जनालाई छनौट गरिएको थियो । कम्तिमा एक जना महिला अनिवार्य समावेश हुने गरी छनौट मापदण्ड बनाइएको थियो ।
विद्यालय तह कक्षा ५, कक्षा ८ र एसईईमा उत्कृष्ट सिकाई उपलब्धी भएका तथा विगत तीन वर्षको शैक्षिक सत्र (०७९/८० र ८१) सिकाई उपलब्धी उच्च भएको र एउटा स्थानीय तहबाट एकजना मात्र पर्नेगरी सम्बन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट प्रमाणित सिफारिस हुनुपर्ने मापदण्ड तोकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
त्यस्तै, पाँच वर्ष स्थायी सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट शिक्षक प्रोत्साहनसँग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व–घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्ने र शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागीय कारबाहीमा नपरेको शिक्षक छनौट गरेर सम्मानित गरिएको जनाएको छ ।























कर्मसञ्चार । २०८२ असार १८ गते बुधवार