
फाईल फोटो
सुर्खेत, २७ कात्तिक ।
यही कात्तिक १६ गते प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशब स्थापित पदमुक्त भए । जो बर्खास्तमा पर्ने पहिलो प्रदेश मन्त्री हुन् । मंगलबार सुदूरपश्चिम प्रदेशमा पनि सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । बर्खास्तमा पर्ने प्रदेश मन्त्रीमा उनी दोस्रोमा परेका छन् । यी दुबै मन्त्रीलाई पदमुक्त गर्नुको कारण उस्तैउस्तै छ,– ‘मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नभएको, पद अनुकुलको आचरण नगरेको ।’
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री स्थापितलाई पदबाट जसरी हटाएका थिए, उसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि सामाजिक विकास मन्त्री सोडारीलाई पदमुक्त गरे ।
यी दुई मन्त्रीको बर्खास्त घटनाले कर्णाली प्रदेश पनि तरङ्गित बनेको छ । छिमेकी प्रदेश सुदूरपश्चिमको मन्त्री ‘चेन्ज’ ले कर्णालीमा झनै कम्पन ल्याएको हो । आज सामाजिक विकास मन्त्री सोडारी पदबाट बर्खास्त भएपछि यहाँका नागरिकहरु सामाजिक सञ्जालमा कर्णालीका मन्त्रीहरूको आलोचनामा उत्रिएका छन् । कर्णालीमा पनि मन्त्रीले सन्तोषजनक काम गर्न नसकेको भन्दै आक्रोश र गुनासो पोख्न थालिएको छ ।
मन्त्रीपरिषद् विस्तार भएयता सहकार्य र समन्वयमै चलिरहेका कर्णालीका मन्त्रीहरू केही दिन पहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद बैठकमै सांसद र मन्त्रीहरू ‘भ्रष्टचारको सेटिङमा’ लागेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि मुख्यमन्त्री र मन्त्रीहरूबीचको सम्बन्धमा चिसो पसेको छ ।
सांसद र मन्त्रीहरूले मुख्यमन्त्रीको अस्वभाविक अभिव्यक्तिले सम्मानित संसद र आफूहरूको मानमर्दन भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यद्यपी, मुख्यमन्त्री शाहीले आफूले सांसद र मन्त्रीलाई भन्दा पनि विकासका नाममा हुने बेथिति र गलत प्रवृत्तिलाई संकेत गर्न खोजेको भन्दै संसद बैठकमै जवाफ दिइसकेका छन् ।
कर्णालीका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीले मन्त्री बनेपछि पनि निर्माण व्यवसायीको काम (ठेकेदारी) नछोडेको भन्दै आलोचना हुँदै आएको छ । खत्रीले मन्त्री भइसकेपछि आफ्नै मन्त्रालयमातहतको कार्यालयसँग ठेक्का सम्झौता गरेपछि विवादित बन्दै आएका छन् ।
पूर्व एमालेबाट ४ र पूर्व माओवादीबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्रीमण्डलमा सहभागि छन् । कर्णालीमा तत्कालै मन्त्री फेरबदलको खेल शुरुभइहाल्ने सम्भावना भने न्यून रहेको यहाँका राजनीतिक जानकारहरू बताउँछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली ईन्चार्ज र प्रदेश नेतृत्व मन्त्रीहरूप्रति सकारात्मक नै देखिएकाले मन्त्री फेरबदलको एक्सर्साइज तत्कालै हुने सम्भावना नरहेको नेकपा उच्च स्रोतको दाबी छ ।
प्रकाशित मितिः November 13, 2018 at 7:11 pm













कर्मसञ्चार । २०७५ कार्तिक २७ गते मंगलवार