केन्द्र सरकारले कर्णालीलाई दियो २७ करोडको संरचना


सुर्खेत, ९ जेठ ।
संघीय सरकारले कर्णाली प्रदेश सरकारलाई २७ करोड बढीको भौतिक संरचना हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतको हाताभित्र रहेको तीन विगाह जग्गासहित निर्माणाधीन भौतिक संरचना ‘लघु औद्योगिक ग्राम’ को स्वामित्व प्रदेश सरकारलाई हस्तान्तर गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै संघीय उद्योगमन्त्री यादवले उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउन कर्णाली प्रदेश र यहाँका स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

औद्योगिक विकासका लागि केन्द्र सरकारले बाह्य लगानी भित्र्याउने बताउँदै उनले आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए ।मन्त्री यादवले गत चैतमा सम्पन्न लगानी सम्मेलनपछि नेपालमा लगानीकर्ताको आकर्षण बढेको बताए । केन्द्रीय सरकार पुराना ऐन, कानूनहरु सुधार गर्दै लगानीको उपयुक्त वातावरण बनाउन लागिपरेको उनको भनाइ छ । मन्त्री यादवले नेपालमा ठूला उद्योगको विकास गर्न जग्गाको अभाव रहेको औंल्याए ।

तीन ओटै तहका सरकारबीच समन्वय कायम हुन सके मात्र संघीयता सफल हुने उनको भनाइ छ । ‘एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन ओटा सरकार अघि बढ्नुको विकल्प छैन,’ मन्त्री यादवले भने, ‘संवैधानिक स्वतन्त्रताको दुरुपयोग हुने गरी कसैले अराजकता मच्चाउँछन् भने त्यो दुर्भाग्य हुनेछ ।’

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताए । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षडयन्त्र भइरहेको भन्दै उनले स्थानीय तह बलियो नभए संघीयता सफल नहुने दाबी गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघु उद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताइन् ।

चार ब्लकमा ६२ कोठा रहेको औद्योगिक ग्राम रू.१५ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ । लघु औद्योगिक ग्रामको ५५ प्रतिशत काम पुरा भएको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका निर्देशक शम्भु प्रसाद पौडेलले जानकारी दिए। लघु उद्यमीलाई व्यवसाय विस्तारमा सहजता प्रदान गर्नका लागि ग्राम सञ्चालन गर्न लागिएको हो ।

संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धनकुटा र सुर्खेतमा लघु औद्योगिक ग्राम निर्माण गरिरहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले संघीय सरकारले लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर संघीयता कार्यान्वयनमा एक कदम अघि बढेको बताए ।

प्रकाशित मितिः   May 23, 2019 at 8:08 pm 


  • प्रतिक्रिया दिनुहोस्