
सुर्खेत । कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेखनीय देखिएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक २८ हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका हुन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ६ हजार ९६७ पुरुष र ६२० महिला छन् ।
त्यस्तै, सुर्खेतका पाँच हजार ८९ पुरुष र ५६८ महिला गरी ६ हजार ३८७ जनाले श्रम स्वीकृति लिएका छन् भने दैखका तीन हजार ९६५ पुरुष र ३२३ महिला गरी चार हजार २८८ जनाले श्रम स्वीकृत लिएका छन् । रुकुमपश्चिमका दुई हजार ८५९, जाजरकोटका दुई हजार ५१८, कालिकोटका एक हजार २५, जुम्लाका एक हजार २५५ जनाले श्रम स्वीकृति लिएक तथ्यांक छ । यसैगरी, मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ ।
स्वदेशमा रोेजगारीका अवसर न्यून हुँदा वैदेशिक रोजगारीमा जाने नागरिकको संख्या बढ्दो क्रममा रहेको सरोकारवालाहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत अन्तरक्रियाका सहभागी सरोकारवालाले वैदेशीक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने सुझाएका छन् । उनीहरूले सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्ने, विदेश जानुपर्ने नै भए जानेर बुझेरमात्र जानुपर्ने सुझाव दिएका हुन् । श्रम अधिकृत ध्रुव देवकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमलबहादुर रोकायले वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको जानकारी दिँदै वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने बताए ।
प्रकाशित मितिः December 21, 2025 at 11:56 am













कर्मसञ्चार । २०८२ पुष ६ गते आइतवार