


सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संस्कृतिको संरक्षणका लागि सहकार्यमा जोड दिनुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भगवतीमाई कला केन्द्रको साधारण सभालाई शनिवार सम्वोधन गर्दै उनले कला–संस्कृतिको संरक्षणका लागि सहकार्य जरूरी रहेको बताएका हुन् । ‘संस्कृतिको संरक्षणका साथै त्यसको पुस्तान्तरण गर्न आवश्यक छ,’ उनले भने, ‘कला–संस्कृतिको प्रवर्द्धनमा कर्णाली प्रदेश सरकार सहकार्य गर्न तयार छ’ । मन्त्री भण्डारीले प्रदेश सरकारको नीति कला–संस्कृतिको जगेर्ना, संरक्षण तथा प्रवर्द्धन गर्ने रहेको जनाए । उनले कला केन्द्रलाई सरकारका कार्यक्रमबाट पनि लाभ लिन आग्रह गरे । ‘यहाँहरूले गर्नुभएको प्रयास राम्रो छ, संस्थाको क्षमता विकासका लागि मन्त्रालयबाट पनि अवश्यै सहयोग हुनेछ,’ उनले भने । संस्कृति जगेर्नाका लागि केन्द्रले थालेका प्रयासहरू सराहनीय भएको भन्दै उनले यसको निरन्तरताका लागि शुभकामना व्यक्त गरे ।
केन्द्रको प्रथम साधारण सभामा अध्यक्ष वीरबहादुर खड्काले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरिमाया विष्ट थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ज्येष्ठ नागरिक, समाजसेवी तथा आजीवन सदस्यहरूलाई कदर–पत्रसहित सम्मान गरिएको थियो भने लहरे पैचरीलगायतका सांस्कृति प्रस्तुतिहरू रहेका थिए ।
एक वर्षअघि विधिवत् रूपमा दर्ता भइ संस्कृति संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील रहेको केन्द्रले लहरे पैचरी नाच, सिंगारु, गर्रा, देउडा र झ्याउरे, लाखे नाचलगायतका सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाबाट बसाइँसरी वीरेन्द्रनगर आएका युवाहरूले २०७८ सालदेखि अनौपचारिक रूपमा केन्द्रका सांस्कृतिक क्रियाकलाप अघि बढाएका थिए । हाल संस्थामा ६५ जना आजीवन सदस्य र ८० जना साधारण सदस्य रहेका छन् ।




























कर्मसञ्चार । २०८२ कार्तिक ८ गते शनिवार