
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अनलाइन नक्सापास (ई–बिपिएस) सेवा सञ्चालनमा ल्याएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश उक्त योजनालाई नगरपालिकाले सोमबारदेखि कार्यान्वयन थालेको हो । वीरेन्द्रनगर नगरपालिकाले औपचारिक कार्यक्रमका बीच ई–बिपिएस सेवा शुभारम्भ गरेको छ । सेवा प्रारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मोहनमाया ढकालले यसले भवनको नक्सापास प्रक्रियालाई छिटो, छरितो र चुस्त बनाउने विश्वास व्यक्त गरिन् । उनले नक्सापासका लागि सेवाग्राहीले अब नगरपालिका धाउनुपर्ने झन्झट हट्नुका साथै प्रक्रिया पनि थप व्यवस्थित र पारदर्शी हुने बताइन् ।
ई–बीपीएस स्थानीय तहले भवन निर्माणका लागि आवश्यक नक्सापास प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्ने डिजिटल प्रणाली हो । यो प्रणालीमा घरको नक्सापासका लागि अनलाइनबाटै आवेदन दिन, आवश्यक कागजात (लालपुर्जा, नागरिकता, भवनको डिजाइन) अपलोड गर्न सकिन्छ । त्यस्तै, अनलाइन नक्सापास प्रणालीमार्फत आवेदनको प्रगति घरमै बसेर हेर्न सकिन्छ । आवेदनको प्राविधिक जाँच तथा स्वीकृतिपछि भवन निर्माण अनुमति जारी गरिने नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको यस प्रणालीले प्रविधिको प्रयोगसँगै नगरपालिकाको सेवा प्रवाहमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।
योसँगै नगरले एकीकृत नगरपालिका सूचना प्रणाली (आईएमआईएस) समेत सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर नगरपालिकाले पछिल्लो समय सेवा प्रवाहमा डिजिटल प्लेटफर्मको प्रयोगलाई जोड दिँदै आएको छ ।
प्रकाशित मितिः July 28, 2026 at 7:57 am


कर्मसञ्चार । २०८३ साउन १२ गते मंगलवार