एक वर्षपछि भारतसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार (आज) छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलोङमा हुने खेलमा नेपाल र भारतको टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ । नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो । भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले पराजित भएको थियो । पहिलो खेलको दोस्रो हाफमा सम्हालिन नसकेका कारण पराजित हुन पुगेको नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको भनाइ छ । भारतविरूद्ध खेल सुधार गर्दै जितका लागि प्रतिस्पर्धा गर्ने साम्बाले बताइन् ।
एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए । सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी भएको थियो । नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १८ खेल भएका छन् । जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीम सकिएका छन् ।

प्रकाशित मितिः   October 27, 2025 at 1:41 pm 


  • प्रतिक्रिया दिनुहोस्