संविधान दिवसमा राजनीतिक दलको अन्तरसंवाद

सुर्खेतः संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतस्थित चार राजनीतिक दलले अन्तरसंवाद कार्यक्रम गरेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शुक्रवार दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा अन्तरसंवाद गरेका हुन् । कार्यक्रमका अतिथि वक्ताहरूले संसद् विघटन असंवैधानिक भएको बताएका छन् । नेताहरूले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
उनीहरूले हालै जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाप्रति दुख व्यक्त गरेका छन् । २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न तथा संविधानको रक्षाका लागि राजनीतिक दलका नेताहरू एउटै मञ्चमा देखिएका हुन् । ध्वंसात्मक आन्दोलन र प्रतिनिधि सभा विघटनजस्ता घटनाले मुलुकको विकास र समृद्धिको यात्रामा गम्भीर चुनौती थपिएको नेताहरूले बताएका हुन् । यस्ता क्रियाकलापबाट संविधानमाथि प्रहार भएको उनीहरूको ठहर छ । अहिलेकै संविधानको मर्म र भावनाअनुसार जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न सकिने आधारहरू रहेको उनीहरूले बताए ।
अन्तरसंवाद कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस कार्यसम्पादन समिति सदस्य जीवनबहादुर शाही, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल सहभागि थिए । वक्ता नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिबारे आ–आफ्ना धारणा राखेका छन् ।

‎‎

प्रकाशित मितिः   September 19, 2025 at 4:23 pm 


  • प्रतिक्रिया दिनुहोस्