हराएका बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत भेटिए

दैलेख, ४ पुस ।

दैलेखमा हराएका एक बालक आफैं पढ्ने स्कुलको सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएका छन् । पढ्न भनेर मंगलबार बिहान घरबाट हिँडेका ६ वर्षीय हिक्मत शाही दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलको सेफ्टी ट्यांकीमा बुधबार मृत अवस्थामा फेला परेका हुन्। उक्त स्कुलमा उनी युकेजीमा पढ्दै थिए।

प्रहरीका अनुसार मंगलबार बिहान स्कुल गएका उनी घर नफर्केपछि खोजी भइरहेको थियो। त्यस क्रममा उनको शव उनै पढ्ने स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ। दैलेखकै पश्चिममा पर्ने ठाटिकाँध गाउँपालिका-३ घर भएका उनका बुबाआमा सदरमुकाममा खुद्रा व्यापार गर्छन्।

प्रकाशित मितिः   December 19, 2018 at 1:38 pm 


  • प्रतिक्रिया दिनुहोस्