
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को शुभकामना सन्देश दिँदै यसै संविधानभित्रै रहेर जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न सकिने बताएका छन् । उनले हालै जेनजी पुस्ताको प्रदर्शनपछि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले गम्भीर चुनौती सिर्जना गरेको बताएका छन् । मुख्यमन्त्री कँडेलले संविधानलाई कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भन्दै नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको जनाएका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले जेनजी पुस्ताको आन्दोलनको मर्म र भावनाको सम्बोधन अहिलेकै संविधानबाट गर्न सकिने प्रशस्तै आधारहरू रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘जेनजी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू छन् । संविधानलाई संशोधन गरी थप परिष्कृत गर्न सकिन्छ ।’
जेनजी आन्दोलनका क्रममा भएका घटनाले मुलुकलाई दशकौँ पछाडि धकेल्ने प्रयास भएको भन्दै मुख्यमन्त्री कँडेलले यस्तो अवस्थामा राष्ट्रिय एकताका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् । युवा पुस्तामा देखिएको निराशालाई बुझेर समस्या समाधान गर्न पर्याप्त पहल नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताएका छन् । शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसात्मक घटनाले भने सबैलाई स्तब्ध बनाएको शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री कँडेलले लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा यस्ता घटना कल्पनासमेत गर्न नसकिने भन्दै लोकतन्त्रका पक्षधरहरूलाई राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एकताबद्ध हुन आग्रह गरेका छन् । जेनजी आन्दोलनले मुलुकलाई समृद्धितर्फ लैजानुभन्दा पनि थप राजनीतिक अस्थिरता र अराजकताको भुमरीतर्फ धकेल्ने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
संघीयता, लोकतन्त्र र समावेशी समानुपातिक व्यवस्था लगायतका उपलब्धिमाथि प्रहार गर्ने प्रयासका साथै असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको शुभकामना सन्देशमा उल्लेख छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको र संविधान दिवसले सबैलाई थप जिम्मेवार बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः September 19, 2025 at 1:23 pm























कर्मसञ्चार । २०८२ असोज ३ गते शुक्रवार