
सुर्खेत, ८ असोज ।
भेरीगंगा नगरपालिका –१३, सुर्खेतका ३२ वर्षीय बिर्ख बहादुर थापा नक्कली फेसबुक आईडी बनाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) र ब्रिटिश लाउरे हुँ भन्दै ठगी गर्ने थापालाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पोखराको पृथ्विचोकबाट प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । थापाले ब्रिटिश लाउरे हुँ भनि विभिन्न प्रलोभन देखाई गत २९ जेठमा पोखराको पृथ्वीचोकस्थित होटलमा एक महिलालाई बोलाई यौन शोषण गरेको र बिहानी पख ति महिला शौचालय गएको बेला उनको तीन लाख ५० हजार रुपैंयाँ र ४ तोला सुनका गहना चोरी गरी भागेका थिए ।
पीडित महिलाले प्रहरीमा दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको गुरुङले जानकारी दिए । प्रहरीले पक्राउ परेका थापालाई चोरी र जवरजस्ती करणी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
पक्राउ पछि थापासँग गरिएको सोधपुछ र अनुसन्धानमा एक वर्षदेखि यस्तो काममा संलग्न हुँदै आएको, हालसम्म उनीबिरुद्ध २ जना महिलाबाट जवरजस्ती करणी र चोरी मुद्धामा जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः September 24, 2018 at 7:55 pm


कर्म संचार । २०७५ असोज ८ गते सोमवार