
सुर्खेत, १० जेठ ।
एनएमबी बैंकले सुर्खेतको एक विद्यालयलाई साढे चार लाख रकम सहयोग गरेको छ । वीरेन्द्रनगर–८ स्थित सिद्ध बहिरा बाल विद्यालयको शौचालयलगायतका भौतिक संरचना मर्मतका लागि बैंकले रकम सहयोग गरेको हो ।
बैंकले विद्यालयको जीर्ण अवस्थामा रहेको शौचालय मर्मत, खानेपानी ड्रम, वाटरगार्ड साथै खेलकुदका संरचना मर्मत गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैकले विद्यालयलाई आर्थिक सहयोग गरेको एनएमबी बैकका कर्णाली प्रदेश प्रमुख उज्वल रिजालले बताए ।
‘विद्यालयको नाजुक अवस्थाबारे सञ्चारमाध्यमबाट थाहा पाएपछि विद्यार्थीले भोग्दै आएका समस्या समाधानका लागि सहयोग गरेका हौं,’ उनले भने, ‘आगामी दिनमा पनि समुदायका यस्ताखाले समस्यामा हाम्रो सहयोग रहनेछ ।’ प्रमुख रिजालले सहयोग रकम थोरै भएपनि यसले विद्यार्थीको पढनपाठनमा उचित वातावरण बनाउन मद्दत गर्ने अपेक्षा व्यक्त गरे ।

बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी मर्मत गरिएका संरचना विद्यालयलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर–८ का वडा अध्यक्ष थम्मप्रसाद गौतमले बैंकले विद्यालयलाई गरेको सहयोगको सह्राना व्यक्त गरे । आउँदा दिनमा पनि बैंकले समुदायस्तरमा गर्ने सहयोगलाई निरनतरता दिन अनुरोध गरे । सुर्खेतकै पुरानो विद्यालय सिद्ध बहिरामा हाल सबै कक्षामा गरी ८० जना विद्यार्थी अध्ययनरत छन् ।
सोही अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । विद्याज्योती सहकारी विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टीकाराम शर्मा र क्याम्पसलाइनस्थित जागृति पुस्तक पसलको सहकार्यमा सबै विद्यार्थीलाई स्टेशनरी (कपी,पेन्सील) वितरण गरिएको हो ।

कार्यक्रममा एनएमबी बैंक सुर्खेत शाखाका प्रबन्धक मीत्र प्याकुरेल, सिद्ध बहिरा बाल विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन बुढा, स्थानीय समाजसेवी तेजप्रसाद पौडेललगायतको सहभागिता थियो ।
प्रकाशित मितिः May 24, 2019 at 4:23 pm























कर्मसञ्चार । २०७६ जेष्ठ १० गते शुक्रवार