
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि थुप्रै सम्भावनाहरू रहेको बताएका छन् । विहीबार काठमाडौंमा सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । समृद्ध कर्णालीका आधारबारे चर्चा गर्दै उनले भने, ‘बन्छ कर्णाली, बनाउनुपर्छ ।’ उनले कर्णालीलाई अहिलेको अवस्थाबाट माथि उठाउन सबैले सकारात्मक प्रयत्न गर्नुपर्ने औल्याए । ‘कर्णालीको विकासका सन्दर्भमा भएका कमजोरीहरू सुधारेर अघि बढ्नुपर्छ,’ उनले भने ।
देशमा भएका कामहरूको चर्चा हुन नसकेको बताएका उनले नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको प्रति चिन्ता व्यक्त गरे । ‘सधैं नकारात्मक भाष्य बनाउने र भएका कामहरूको चर्चा नगर्ने परिपाटी देखिन्छ,’ उनले भने, ‘सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय लाग्दैन ।’
भूगोलका हिसाबले कर्णालीका लागि आफू टाढाको भएपनि त्यहाँको विकासका निम्ति धेरै योगदान गरेको उनले जिकिर गरे । ‘कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे,’ उनले भने, ‘केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिष्पर्धामा पर्दछु । हामी भन्नेमात्रै होइन, गर्नेमा पनि पर्छौं ।’ प्रधानमन्त्री ओलीले दैलेखमा प्राकृतिक ग्याँसको खोजी गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरूले अहिले ग्याँस पाइएपछि पनि विरोध गरिरहेको बताए ।
प्रकाशित मितिः August 22, 2025 at 1:46 pm


कर्मसञ्चार । २०८२ भाद्र ६ गते शुक्रवार