सम्पादक अधिकारी पुरस्कृत

 

सुर्खेत, २० मंसिर ।
कर्म सञ्चार डटकमका सम्पादक ईश्वर अधिकारी पुरस्कृत भएका छन् । खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको मूल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २३औं साधारण सभाको अवसरमा अधिकारीलाई १० हजार राशीको ‘खानेपानी तथा सरसफाइ’ पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकारीलाई सम्मानसँगै नगदसहित प्रमाणपत्र प्रदान गरेका हुन् ।

अधिकारीले सुर्खेतमा रहेर भेरी खबर दैनिक (संवाददाता), रेडियो भेरी एफ. एम. (रिपोटर), काँक्रेविहार दैनिक (कार्यकारी सम्पादक), बुलबुले दैनिक (कार्यकारी सम्पादक) हुँदै हाल कर्म सञ्चार डटकमको सम्पादकका रुपमा निरन्तर पत्रकारिता गर्दै आएका छन् ।

स्थानीय तथा राष्ट्रियस्तरका छापा र विद्युतीय सञ्चारमाध्यममा पत्रकारिताको झन्डै एक दशकको अनुभव बटुलेका उनले सुर्खेत शाखाले आफूलाई पुरस्कृत गर्दा यसै क्षेत्रमा काम गर्न हौसला मिल्नुका साथै थप जिम्मेवारीसमेत बोध भएको बताए । सत्य, तथ्य र निश्पक्षको पक्षमा रहि कलम चलाउँदै व्यवसायिक पत्रकारिताको विकासमा निरन्तर लागिरहने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी, महासंघले नागरिक दैनिकका नगेन्द्र उपाध्यायलाई ५ हजार राशीको ‘वर्ष पत्रकारिता पुरस्कार’, प्रदेश एफ. एम. का धर्मराज जिसी र खबरइरा डटकमका विमला खड्कालाई १०/१० हजार राशीको ‘शान्ति तथा विकास’ पुरस्कार प्रदान गरेको छ ।

प्रकाशित मितिः   December 6, 2018 at 4:20 pm 


  • प्रतिक्रिया दिनुहोस्